कभर फोटो

अस्थायी घर र बिद्यालय बनाउंदै एमालेका नेता कार्यकर्ता

By धादिङ न्यूज

June 03, 2015

धादिङ–बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त हुन पुगेका घर तथा बिद्यालयको पुर्न निर्माण यति बेला निकै चुनौतिको बिषय बनेको छ । गाउँमा सबैको घर भत्किएकाले साथ दिने मान्छे पाउन समेत मुस्किल छ । दुई चार पैसा हुनेले ज्याला दिएर पनि घर निर्माण गरिरहेका छन । विहान बेलुका छाक टार्न मुस्किल भएकाहरुको लागि भने महाभुकम्पले सर्वस्वनै हरण गरिदिएको छ । विपदमा परेकाहरुको सहयोगका लागि तथा भत्किएका संरचनाहरुको निर्माण गर्न एमाले निकट अनेरास्ववियुको स्वंयसेवक टोली यति बेला धादिङमा सक्रियका साथ जुटिरहेका छन् भुकम्पबाट घरवारविहिन भएकारुको घर पुर्ननिर्माण गर्ने तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्ने नेकपा एमालेको एक महिने नयाँ अस्थाई घर निर्माण अभियान अन्तर्गत धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा स्वयमसेवक टोली उत्साहजनक रुपमा सक्रिय भएको हो । अभियानकै क्रममा जेठ १९ गते मंगलबार धादिङ क्षेत्र नं १ को सल्यानटार गाविसमा रहेका विभिन्न घर तथा विद्यालयहरुको टहरा निर्माण गरिएको छ । अनेरास्ववियु केन्द्रिय सदस्य विमला घिमिरेको संयोजनमा जुटेका सहयोगी हातहरुले सल्यानटार गाविसमा भूकम्पबाट भत्किएका घर तथा विद्यालयहरुको पूर्ननिर्माण गरिरहेका छन् । कपिलबस्तुको २८ जनाको टोलीसँगै कपिलबस्तु क्षेत्र नं १ का एमाले सभासद् बलराम अधिकारी पनि स्वयमसेवी टोली सँगै टहरा निर्माणमा जुट्नु भएको छ । सल्यानटार ८ विशालबजारमा रहेको चुलीदेवी माविको कम्पाउण्ड बारीएको छ । भने स्कुलको सरसफाई पनि गरिएको छ । त्यस्तै सल्यानटारको ४ र ५ वडामा रहेको स्थानीय भूकम्प पीडित ११ जनाको घर टहरा निर्माण गरिएको अभियान टोलीले जनाएको छ । रुपन्देहीबाट आएका ३५ जनाको टोलीले अस्थायी टहरा निर्माण गरेको हो । त्यस्तै क्षेत्र नं २ अन्र्तगत बेनिघाट गाविसको वडा नं ८ मा रहेको चन्द्रोदय माविमा अस्थायी टहरा निर्माण कार्य सम्पन्न भएको छ । अनेरास्ववियुका साथै अन्य स्वंयसेवीहरु मिलेर सोमबारदेखि उक्त विद्यालयको टहरा निर्माणमा जुटेका थिए । अनेरास्ववियुका केन्द्रिय सचिव राधिका खतिवडाको संयोजकत्वमा मंगलबार उक्त स्कुलमा १० जना अनेरास्ववियु र अन्य स्थानीय युवाहरु मिलेर ५ कोठे टहराको निर्माण कार्य सकेका हुन् । सोमबार बाँकेबाट आएको ८ जनाको टोलीले नीलकण्ठ नगरपालिकाको ८मा रहेको कालिका प्राविको ४ कोठे टहराको निर्माण कार्य थालनी गरिएको छ । त्यस्तै कैलालीबाट आएका १३ जनाको टोलीले नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामारी भन्ज्याङ प्राविको ५ कोठे टहराको निर्माण कार्य सम्पन्न गरेका छन । त्यस्तै क्षेत्र नं ३ अन्र्तगत नेकपा एमाले सम्बद्ध विद्यार्थी टोलीहरु थाक्रे गाविसको विभिन्न वडाका भूकम्प पीडितहरुको घर, टहरा निर्माणमा जुटेका छन् कोशी अञ्चल कमिटिका सदस्य बाबुराम थापाको संयोजन तथा धादिङ क्षेत्र नं ३ का पूर्व राष्ट्रिय प्रतिनिधि सदस्य नेत्रराज पौडेलको स्थानीय संयोजनमा थाक्रे गाविसको वडा नं ४ मा २ वटा, वडा नं ५ मा ३ वटा र वडा नं ८ मा ५ वटा भूकम्प पीडित स्थानीयहरुको अस्थायी टहरा निर्माण गरेका छन् । कोशी अञ्चलका विभिन्न जिल्लाबाट आएका ७० जना स्वंयसेवीहरुसँगै वडा नं ४ मा पूर्व सभासदले पनि सँगै काम गरिरहनु भएको छ । बढी मात्रामा पीडित भएका एकल महिला, वृद्ध, वृद्धाहरुको टहरा निर्माणलाई प्राथमिकता दिइएको संयोजक थापाले जानकारी दिनुभयो ।