मुख्य समाचार

२०६८ को जनगणना भन्दा जिल्लामा २० प्रतिशतले घरधुरी बढ्यो 

By धादिङ न्यूज

June 26, 2015

धादिङ–असार ११, धादिङ जिल्लामा वि.स २०६८ सालको भन्दा २० प्रतिशतले घरधुरी बढेको जिल्ला विपद् व्यावस्थापन समितिले जनाएको छ । विशषे गरि उत्तरी धादिङका विभिन्न गाउँ विकास समितिमा जिल्लाको अन्य गाविसमा भन्दा बढी घरधुरी बढेको छ । तथ्याङक गलत हुँदा राहत वितरणमा अहिले समस्या परेको छ । जिल्लाको लापा गाविसमा ६० प्रतिशतसम्म घर सङ्ख्या वृद्धि भएको छ । तर सेर्तुङ गाविसमा २२ प्रतिशत घर सङ्ख्या जनगणनाभन्दा पनि कम देखिएको छ । लापा गाविसमा २०६८ को जनगणनाअनुसार सबै ८ सय ५३ घर भत्केकोले करिब ९०० घरका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न विपद् व्यवस्थापन समितिले गाउँ पठायो तर आधा गाऊँलाई वितरण गर्दा नगर्दै सो रकम सकिएको छ । विकट गाउँमा सञ्चारको समेत सुविधा नभएकाले फेरि रकम लिएर आउने जानकारी दिँदै गाउँबाट त्यत्तिकै टोली फर्किएर पुनः राहत रकम लगेर वितरण गर्नुपर्ने अवस्था आएको छ । लापा गाविसमा एक हजार ३ सय ६८ घरधुरी रहेकामा ती सबै घर पूर्णरुपमा नष्ट भएको छ । री गाविसको पनि अवस्था उस्तै छ । गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पुगेको टोलीले १ हजार १ सय १० घरधुरी रहेको री गाविसमा एक हजार ७ सय १ घर रहेका र ती सबै घरमा पूर्ण क्षति पुगेको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाएको छ । त्यस्तै सेमजोङ गाविसमा ८१७ घर रहेकामा एक हजार १६९ घर पूर्ण रुपमा क्षति भएको विवरण सदरमुकाममा बुझाएर क्षति मूल्याङ्कन टोली फर्केको छ । उत्तरको सेर्तुङ गाविसमा २०६८ को गणनाअनुसार १ हजार ५ सय ३० घर भएकोमा एक हजार १ सय ८६ मात्र घर रहेको पाइएको छ ।