सुनिता मगर
सुको पैसा पनि नपाइने, समयमा खान लाउन नदिने र दिनहुँ जस्तै साहुको कुटपीट सहेर सबैको सहयोगमा नेपाल त फर्किएँ । सिरिया जाने बेलामा छोराले भनेको थियो, ‘ममी मलाई साईकल ल्याईदिनुपर्छ ।’ अनि छोरीले भनेकी थिइन्, ‘म पनि दादासँगै बोर्डिङ पढ्छु ।’ अब घर पुगेपछि यिनीहरुलाई म के जवाफ दिउँ ।
दलालले झुक्याएर घरेलु कामका लागि सिरिया पुर्यायो । सिरियाको दमास्कसस्थित हामखदको घरमा १४ महिना काम गरें । जाने बेलामा दलालले ४ सय डलर कमाई हुन्छ भनेका थिए । त्यति भैसकेपछि कमाई राम्रै हुने र जीवनस्तर सुध्रने आशा थियो । तर सबै आशा र सपना चकनाचुर भयो ।
यसरी पुगेको थिएँ सिरिया
श्रीमानले दोश्रो विवाह गरेपछि हेलाँ गर्न थालें । अनि छुट्टै बस्नपुर्यो । सम्पत्तिका नाममा सानो झुपडी र वर्षभरी काम गर्दापनि ६ महिना खान नपुग्ने बारी मात्रै थियो । श्रीमानको हेलाँ र खेतीपातीबाट गुजारा नचलेपछि अरु विकल्पको खोजीमा छटपटिन थालें । ६ वर्षअघि नानी च्यापेर पोखरातर्फ बाटो लागें ।
आफुले जति दुःख पाएपनि बालबच्चालाई खान लाउन दिने र पढाउने सोच थियो । केहि समयपछि पोखराको नोभा दुध डेरीमा काम पाएँ । त्यहाँ महिनाको ७ हजार कमाई हुन्थ्यो । दुध डेरीबाट पछि जागिर टुट्यो । अनि काम खोज्दै पोखराका धेरै होटल तथा पसल चाहारें । तर कतैपनि जागिर पाइएन ।
रोजगारीका लागि महिलाहरु पनि विदेश जाने गरेको सुनेको थिएँ । त्यसपछि आफु पनि विदेश जाने सोच बनाएँ । यो कुरा आफु निकट केही साथीहरुलाई पनि सुनाउनु भएको थियो । केही दिनमै पोखराकी एक महिलाले विदेश पठाउन सहयोग गर्ने वताईन् । उनले भनिन्, ‘सुनिता तिमी विदेश जाने रे हो ? त्यसोभए म तिमीलाई सहयोग गर्छु ।’ तर मलाई विश्वास लागेन । ती महिलाले बारम्बार फोन गर्न थालिन् र विदेश जान मान्छे भेटाईदिन्छु उ मार्फत गयो भने राम्रो हुन्छ भनिन् । तिनै महिलाको विश्वासमा परेर विदेश पठाउने मान्छे भेट्न राजी भएँ । ती महिलाले काठमाडौंमा रहेका दलाललाई फोनमा यो कुरा सुनाईन् । दलालले तत्काल काठमाडौं झिकायो र काठमाडौं आएँ ।
काठमाडौंको गौशालामा रहेको सूर्य गेष्ट हाउसमा दलालसँग भेट भयो । त्यहाँ म जस्ता धेरै महिलाहरु विदेश जाने तरखरमा थिए । त्यो देखेपछि मलाई पनि दलालप्रति विश्वास बढ्यो । उसले मलाई कुवेत पठाउने भन्दै तत्काल राहदानीका लागि जिल्ला प्रशासन कार्यालय धादिङबाट सिफारिस ल्याउन लगायो ।
म तत्काल धादिङ फर्किएँ । पोखरा पुगेर नानीहरुलाई बहिनी पार्वती मगरको जिम्मामा कोठामा केही दिनलाई पुग्ने अन्नपानीको जोहो गरि प्रशासनको सिफारिस लिएर काठमाडौं आएँ । राहदानीका लागि सबै चाँजोपाँजो मिलायो र पैसा पनि उसैले खेप्यो । राहदानी कसरी बन्यो मैले केही पनि थाहा पाइन । मात्र औंठा छाप लगाएँ ।
मेरो राहदानी दलालले नै लग्यो र अव तिम्रा दुःखका दिन गए भनेको थियो । तर मेरो मन भने ढुक्क हुन सकेको थिएन । ‘सर मैले अझै बढी दुःख पाउने त हैन ? फेरि मेरा छोराछोरीको लास्टै बिजोग हुन्छ’ भन्दा दलालले भन्यो, ‘तिमी मेरो बहिनी हो, अझै म माथि शंका ? तिमीले जति दुःख पाउनु पायौ, अब तिमीलाई राम्रो कमाई हुने ठाउँमा पठाउँछु ।’
यसरी दलालसँग कुरा भएपछि गौशालाबाट काँकडभिट्टाका लागि बस चढेर म सहित ४ जना महिला भारततर्फ बाटो लाग्यौं । उनीहरुसँग एकजना पुरुष पनि थियो, तर उसलाई मैले चिनेको थिइन । दलालले थानकोटमा प्रहरीले चेक गर्छ, सोधखोज गर्यो भने हामी त आफन्तकोमा हिँडेको भन्नु है भनेको थियो ।
उनीहरु काँकडभिट्टाबाट फेरि सिलिगुढीतर्फ लागे । भारत पुगेपछि फेरि दुईजना दलालहरु आए र उनीहरुले नै सबै व्यवस्था मिलाएका थिए । कुवेत जान नेपाल सरकारले बन्द गरेकाले भारतबाट पठाउने हो भनिएको थियो । पछि दलालले कुवेत नहुने भयो अब किर्कीस्तान जानु भने । र किर्कीस्तानका लागि भन्दै सिरिया पुर्याईएको थियो ।
सिरिया बसाई
सिरियाको दमास्कसस्थित हामखदको घरमा लगेर दलालले बुझायो । मैले त्यहीँ काम सुरु गरें । साहुले केही महिनासम्म राम्रै व्यवहार गरेपनि पैसा दिएन । कामको चाप थियो र पनि घरको दुःख सम्झँदै मैले निकै मेहनत गरें । साहु साहुनी पनि खुशी नै थिए । दुई चार महिना बित्दा पनि साहुले तलबको बारेमा केही कुरा गरेन ।
तलब माग्दै साहुसँग आफैंले नै मुख फोर्नुपर्यो । आफुले गरेको कामको ज्याला माग्दा साहुले भन्यो तँलाई किन चाहियो पैसा ? मैले जवाफ दिएँ, ‘घरमा दुईजना मसिना बालबच्चा छन् । उनीहरुको पालन पोषण मैले नै गर्नुपर्छ । यहाँ आएदेखि फोन पनि गर्न पाएकी छैन् ।’
यति भनि नसक्दै साहुले कुट्यो । त्यो दिनदेखि मेरो जिन्दगीले थप कष्टकर यात्रा सुरु गर्यो । खान लाउन नदिने, काममा पेल्ने र साहुपरिवारको चरम अन्याय सहनुपर्ने दैनिकी सुरु भयो । त्यसपछि मैले न कसैसँग बोल्न पाएँ, न त बाहिरफेर हिंड्न नै । सुत्ने खानेको टुँगो थिएन । त्यति गरेर पनि बालबच्चालाई पैसा पठाउन पाएको भए त हुन्थ्यो नि, सुको हात लागेन ।
यता पोखरामा बालबच्चाको पनि झन् विजोग भएको थियो । बालबच्चा पार्वती बहिनीसँग छाडेर गएपनि पार्वतीले बिबाह गरेर गईन् । त्यसपछि पोखरा पब्लिक बोर्डिङमा कक्षा २ मा पढ्दै गरेको छोरोलाई माईतीले ल्याएर पालन पोषण गरे । छोरीलाई बाबुले लगेर घरमा छाडे । एकदिन अमृता नाम गरेकी एक नेपालीले फोन ल्याईदिई ।
अनि साहुलाई छलेर कुरा गरें । साहु साहुनीले थाहा पाएमा कुट्थे । अहिले पनि शरीरको घाउ खाटा बसेको छैन् । पैसा माग्दा किन चाहियो भन्दै कुट्न थालिहाल्थे । पाउने कि नपाउने कुरै गर्दैनथे । काम गरेको पैसा नपाएपछि मैले नेपाल फर्कने चाहना त गरें, तर राहदानी साहुसँगै थियो । दुई वर्षसम्म काम नागरी कुनै हालतमा जान पाउँदिनस् भन्थ्यो ।
मेरो बारेमा घरपरिवारलाई थाहा थिएन । परिवार चिन्तामा थिए । एक दिन आमालाई रुँदै फोनमा भनें, ‘म यहिँ सड्ने भएँ । साहुको कुटाई खानुपर्छ, तलव दिँदैन । कसैसँग कुरा गर्न पाउँदिन, अहिलेपनि डराई डराई फोन गरेकी हुँ । आमा मलाई भेट्ने भए नेपाल निकाल्न पहल गर्नुस् ।’ यति भनेर साहुको डरले फोन काट्नुपर्यो । र पुरानै संघर्षलाई निरन्तरता दिएँ ।
कसरी उद्धार भयो ?
आमा खुवाउने औंसीमा फर्कन्छु भन्दै हिँडेकी छोरीले रुँदै बोलेको कुरा मेरो आमा साबित्रीका कानमा गुञ्जिरहेछ । त्यहि दिनदेखि रसाउन थालेका आमाको आँखा ओभाउन पाएनन् । उहाँले मलाई नेपाल फर्काउन भेटेजति सबैलाई आग्रह गर्नुभयो । सुरक्षित आप्रवासन परियोजना (सामी) ले धादिङमा संचालन गरेको सूचना केन्द्रमा निवेदन दिँदै उद्धार गरिदिन आग्रह गर्नुभयो ।
सूचना केन्द्रको सहयोगमा म बन्धकमा रहेको समाचार २०७२ जेठ २ गते उज्यालो अनलाइनमा प्रकाशन भयो । प्रकाशित समाचार देश विदेशमा रहेका नेपालीहरुले पढे र उद्धारमा चासो देखाउन थाले ।
यसरी चासो देखाउनेमध्येका एक हुन् गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्याण्डका कार्यकारी अध्यक्ष बालकृष्ण श्रेष्ठ । उहाँले तत्काल फोन गर्नुभयो । मेरो साहु हामखदसँग उहाँसँग कुरा भयो । साहुले भन्यो, ‘सुनिताको दुई वर्षको तलव दलालले अग्रिम लगिसकेको छ म अहिले कुनै हालतमा नेपाल फर्कन दिन्न ।’
बल्ला पत्ता लाग्यो मलाई बन्दक बनाउनुको रहस्य । बारम्बारको आग्रहपछि साहुले मेरो राहदानी दिने र नेपाल फर्कन दिने त बतायो । तर त्यसका लागि झण्डै चार हजार डलर माग्यो । बालकृष्णलाई चार हजार डलर जुटाउने चटारो सुरु भयो । उहाँले विभिन्न देशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।
साहुले मागेको ३ हजार डलर मगर संघ हङकङकी चन्द्रवती मगरले पठाउनुभयो । र टिकटका लागि बालकृष्णले ८ सय २० डलर जुटाउनुभयो । त्यो रकम बुझाएपछि मैले पासपोर्ट पाएँ र नेपालसम्मको बाटो संभव भयो ।
सबैको सहयोगमा नेपाल त फर्किएँ । मेरा हिजोका दुःख जस्ताको तस्तै छन् । अव कसरी गुजारा चलाउने ? मलाई यो पीडामा पार्ने दलाललाई कसरी कार्वाहीको दायरामा ल्याउने ? यसरी फसाउनेलाई कार्वाही हुन्छ कि हुँदैन ? मैले त जति दुःख भोगेपनि फर्किएँ, अरुलाई कसरी फर्काउने र अब जानेलाई कसरी रोक्ने ? मसँगै भारत लगिएका तीन जना कहाँ छन् ? म त अव विदेश जान्न नेपालमै जे काम भेटेपनि गर्छु । मलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
(सिरियामा १४ महिना बन्धकमा परेकी धादिङ मुरलिभन्ज्याङकी सुनिता मगरसँग गरेको कुराकानीमा आधारित)
– उज्यालो अनलाइनबाट