भाद्र ४, २०७२- संघीय संरचनामा ७ वटा प्रदेश बनाउन दलहरु सहमत भएका छन् । आज विहान भएको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा दलहरुबीच ७ प्रदेशमा जाने सहमति भएको हो । कांग्रेस–एमालेले यसअघि संवाद समितिमा प्रस्ताव गरेको ७ बुँदे अवधारणा अन्तर्गतको संघीय ढाँचाको सीमांकनमा केही हेरफेर गरी सहमति गर्न दलहरु राजी भएका हुन् । चार राजनीतिक दलले ६ प्रदेश बनाउने सहमति गरेपछि विवादमा आएका सुर्खेत, कर्णाली र थारु आन्दोलनको मुद्दा सम्बोधन गर्दै ७ प्रदेश बनाउन दलहरु सहमत भएका हुन् । विहान भएको विशेष समितिको बैठकबाट प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली चाँडै निस्किएकाले दिउँसो १ बजे पुन: बैठक बसी सहमतिलाई अन्तिम रुप दिइने बैठकमा सहभागी एक नेताले बताए । सहमति भएलगत्तै आजै मस्यौदा समितिले संविधानसभामा विधेयक प्रस्तुत गर्ने सभापति कृष्णप्रसाद सिटौंलाले जानकारी दिए ।