मुख्य समाचार

नयाँ संविधानको धादिङमा पनि स्वागत, धादिङबेसीमा सयुक्त सभा सम्पन्न

By Dhading News

September 21, 2015

धादिङ–भदौ ४, मुलुकले नयाँ संविधान जारी भएको खुसियालीमा आज धादिङबेसी स्थित नीलकण्ठ उमाविको प्राङगाणमा संयुक्त सभा सम्पन्न भएको छ । सधै भिन्न –भिन्न अभिव्यक्ति दिने नेताहरुले सोमबार धादिङबेसीमा सम्पन्न भएको सभामा भने एकै प्रकारको अभिव्यक्ति दिएका छन् । कार्यक्रममा अतिथी हुँदा आक्कल झुक्कल भेटघाट हुँदा हात मिलाएर सन्चो विसन्चोको कुरा गर्ने नेताहरु सोमबार भने एउटै ब्यानर बोकेर गफिदै हिडेका थिए । मुलुकले नयाँ संविधान जारी गरेको अवसरमा राजनीतिक संयुक्त दल धादिङ र स्थानीय शान्ति समितिको सह–आयोजनामा धादिङबेसीमा सभा सम्पन्न भएको हो ।  नेपाली जनताको ६७ वर्ष पुरानो आकांक्षा पुरा भएको अवसरमा आज धादिङ सहित प्रत्येक जिल्ला सदरमुकाममा संयुक्त आमासभा आयोजना गरीएको हो । आम सभालाई पुर्व  स्थानीय विकास मन्त्री तथा नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डे, पुर्व शिक्षा मन्त्री गँगा लाल तुलाधर, गुरु प्रसाद बुर्लाकोटी, धन बहादुर घले र परशुराम तामाङले सम्बोधन गर्नुभएको थियो । नयाँ संविधान पाउने नेपालीहरुको चााहन पुरा भएको भन्दै उहाँहरुले धादिङबासीलाई बधाई दिनुभएको थियो । साथै अहिले जारी भएको संविधान अग्रगामी र जनतामुखी समेत भएको नेताहरुले स्पष्ट पार्नुभएको थियो ।