मुख्य समाचार

भुमेस्थान लिलाकालीमाविका विद्यार्थीहरु काम्न थालेपछि पढाई प्रभावित

By Dhading News

October 03, 2015

धादिङ– असोज धादिङको भुमेस्थान गाउँ विकास समितिमा रहेको लिलाकाली माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा अनौठो समस्या देखीन थालेको छ । विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी एकैसाथ बिरामी पर्ने गरेका छन । बिरामी विद्यार्थीले आफ्नो होस गुमाएर रुख चढ्न थालेपछि शिक्षक तथा अभिभावक चिन्तित भएका छन । बिरामी विद्यार्थीलाई कसैले नियन्त्रण गर्न नसक्ने र उनीहरु सबैलाई पन्छाएर रुखमा चढ्ने गरेको शिक्षकले बताएका छन् । रुखचढेका विद्यार्थी लडेर केही भयो भने के गर्ने रु भन्ने चिन्ताले शिक्षक तथा अभिभावकलाई सताउने गरेको छ । विद्यार्थीमा देखिएको यस्तो समस्याका कारण लिलाकालि माविको पठन पाठन नै प्रभावित भएको छ । कक्षामा पढिरहेका विद्यार्थीमा गएको एक महिनादेखि एकोहोरो हेर्ने, काम्ने, चिच्याउने र रुखमा चढ्ने समस्या देखिने गरेको विद्यालयका प्रधानाध्यापक नवराज थापाले बताउनुभयो । रुख चढेका केहीलाई अन्य विद्यार्थी र शिक्षकले सुरक्षित रुपमा तल झारे । एक जना छात्रा भने रुखबाट खसेर गम्भीर घाइते भएकी छन । उनको खुट्टा भाँचिएकोले उपचार भैरहेको विद्यालयका प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । कक्षा ७, ८ ९ का छात्राहरुलाई देखिएको समस्या नियन्त्रण गर्न शिक्षकहरु लागि पर्दा विरामी परेका विद्यार्थीहरुले शिक्षकहरुको कपडा समेत च्यातेको थापाको भनाई छ । मास हिस्टेरियाको रुपमा रहेको यो समस्या देखिने वित्तिकै विद्यार्थीलाई अस्पताल पठाउने गरेको प्रधानाध्यापक थापाको भनाई छ ।