मुख्य समाचार

खुल्ने भए नाका

By Dhading News

October 04, 2015

नेपालमा संविधान जारी भएलगत्तै तराईमा असुरक्षा बढेको भनेर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी खुला गर्ने भएको छ । पटकपटकका अनौपचारिक संवादपछि नाका खोल्न भारत सहमत भएको हो ।

नाकाबन्दी गरेको घोषणा नगरेकाले खोल्दा पनि भारतले औपचारिक घोषणा गरेको छैन । तर, शनिबार साँझ भारतीय विदेश मन्त्रालयले सवारीसाधन आवत–जावतमा सहजता ल्याउन र नाकामा अवरोध नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । नेपाली राजदूत र भारतीय अधिकारीबीच भेटवार्ता नेपाली राजदूत दीपकुमार उपाध्यायले शुक्रबार साँझ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेर पछिल्लो परिस्थितिबारे विस्तृत छलफल गरेका थिए । भेटमा डोभालले सीमा क्षेत्रमा भएको अवरोधले नेपाली जनतालाई परेको असुविधाप्रति भारतीय प्रधानमन्त्री चिन्तित रहेको र सकेसम्म छिटो नाका सहज बनाउन प्रयास गरिरहेको बताएका थिए ।

उद्योगपति विनोद चौधरी दिल्लीमा सक्रिय

तीन दल र प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली आएका विनोद चौधरीले भारतका उच्चपदस्थ अधिकारीसँग शुक्रबार र शनिबार दिनभर भेटवार्ता गरेका थिए । ‘राजनीतिक पार्टी, सरकार र उद्योगी साथीहरूको आग्रहमा भारतका सम्बद्ध अधिकारीदेखि महत्त्वपूर्ण व्यक्तित्वसँग कुराकानी गरेँ,’ शनिबार उनले भने, ‘भारतीय अधिकारीहरूले नाकामा रोकिएका सामानहरू नेपालतिर पठाउन सहमति जनाएका छन्, सम्भव भएसम्म चाँडै अवरोध हट्ने वचन पाएको छु ।’

प्रधानमन्त्रीलाई राजदूत रायले दिए जानकारी

भारत सरकारको निर्णयबारे जानकारी गराउन राजदूत रणजित राय शनिबार साँझ बालुवाटार पुगेका थिए । उनले शुक्रबारबाटै केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको जानकारी दिँदै आइतबार र सोमबारसम्म थप केही नाकाको व्यवस्था सामान्य हुने बताए । राजदूत रायले यस सम्बन्धमा भारतको विदेश मन्त्रालय र सम्बन्धित निकायका उच्च अधिकारीसँग निरन्तर सम्पर्क गरिरहेको जानकारी गराए ।