मुख्य समाचार

नेपाल–भारत सीमा नाकामा भएको अवरोध बारे छलफल

By Dhading News

October 06, 2015

नेपाल–भारत सीमा नाकामा भइरहेको अवरोध हटाउने बारेमा दिल्लीस्थित नेपाली दूतावासले सोमवार भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । भारतीय विदेश मन्त्रालयमा भएको छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा जनताले सास्ती भोग्नु परेको भन्दै आपूर्ति सहज बनाउन आग्रह गर्नु भएको थियो । राजदूत उपाध्यायले भारततर्फबाट  आपूर्ति व्यवस्था सहज बनाउने घोषणा गरिए पनि त्यो कार्यान्वयन नभएको बारेमा आफूले अवगत गराएको जानकारी दिनुभयो । जवाफमा भारतीय अधिकारीले परिणाममा देखिनेगरी आपूर्ति व्यवस्थामा सहज हुने जानकारी गराएको राजदूत उपाध्यायले बताउनुभयो । काम अघि बढिरहेको र परिणाम देखिने गरी चाडैनै सीमाको आवतजावत तथा इन्धन आपूर्तिमा सुधार आउनेमा भारतीय पक्षले आश्वासन दिएको छ । भारतका लागि नेपाली राजदूत उपाध्याय, नेपाली दूतावासका डेपुटी प्रमुख कृष्ण ढकाल, कोलकतास्थित नेपाली महावाणिज्य दूत चन्द्र घिमिरे र दूतावासका सहसचिव ढुण्डिराज पोखरेलले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गर्नु भएको थियो ।