मुख्य समाचार

प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रकिया शुक्रबारबाट सुरु

By Dhading News

October 10, 2015

धादिङ–नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रकिया शुक्रवारबाट सुरु भएको छ । नयाँ प्रधानमन्त्रीका लागि पर्सि मतदान हुनेगरी निर्वाचन कार्यक्रम संसद्‍ सचिवालयले शुक्रवार प्रकाशित गरेको छ । राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको म्याद त्यतिकै सकिएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुन्न राष्ट्रपतिले फेरि आज पत्र पठाउनु भएको थियो । व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको चुनाव हुने घोषणा गर्नु भएको हो । सभामुखले प्रधानमन्त्रीको निर्वाचनका लागि संसद्का महासचिव मनोहर भट्टराई निर्वाचन अधिकृत तोक्नु भएको छ । सहमतीय सरकारका लागि राष्ट्रपतिले दिएको एक साताको म्याद विहीवार सकिएको थियो । असोज १५ गते सहमतीय सरकार बनाउन राष्ट्रपतिले एक साताको म्याद दिदै दलहरुलाई आग्रह गर्नु भएको थियो । संसद् सचिवालयका अनुसार बहुमतीय प्रक्रियाका लागि भोलि उम्मेदवारी दिने, फिर्ता लिने लगायत चुनावी कार्यक्रम सञ्चालन गर्ने र पर्सि प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी छ संसद्‌मा बहाल रहेको कुल सांसद संख्या ५ सय ९७ हो । यसमध्ये मधेस केन्द्रित दलका ३५ सांसद् प्रक्रियामा सहभागी छैनन् । बहुमतीय आधारमा प्रधानमन्त्री बन्नका लागि कम्तीमा २९९ मत चाहिन्छ ।