मुख्य समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए टेलिफोनबाट नेपालका नयाँ प्रधानमन्त्री ओलीलाई बधाई

By Dhading News

October 12, 2015

काठमाडौँ, – अघोषित नाकावन्दी लगाएर नेपाल बिरुद्ध संकट निम्त्याईरहेको दक्षिणको छिमेकी देश भारत नेपालका नयाँ प्रधानमन्त्री संग केही लचिलो देखिएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेर नेपाल प्रति केही नरम भएको संकेत देखाएका हुन ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै टेलिफोन गरेर प्रधानमन्त्री मोदीले बधाई ज्ञापन गर्दै भारत भ्रमणका लागि आमन्त्रण गर्नुभएको नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले राससलाई बताउनुभयो ।

त्यस अवसरमा दुई प्रधानमन्त्रीबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई थप गतिशील पार्ने बारेमा विचार–विमर्श भएको जानकारी पनि सचिव ज्ञवालीले दिनुभयो ।

यसैबीच प्रधानमन्त्रीमा निर्वाचित आफ्नो दलका नेताको स्वागतमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित स्वागत समारोहमा पुगेर नेपालका लागि चीनका राजदूत उ चुन्ताईले बधाई ज्ञापन गर्नुभयो ।

पार्टी कार्यालयमा दलका नेता, सांसद, कार्यकर्ता र पार्टीका शुभेच्छुकले प्रधानमन्त्री ओलीप्रति बधाई तथा शुभकामना ज्ञापन गरिरहनुभएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा सिङ्गो मुलुक एकताबद्ध भई राष्ट्र हितका पक्षमा अग्रसर हुने महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।