मुख्य समाचार

तेलको अभावले दसैंमा घर जाने आधा मात्र

By Dhading News

October 15, 2015

काठमाडौं: इन्धन अभाव, आन्दोलनको असुरक्षाजस्ता कठिनाइ छिचोल्दै दसैं मनाउन एक सातायता तीन लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाडेका छन्।

दसैंमा आफन्तसँगै खुसी साट्न बुधबार बिहानसम्म तीन लाख १५ हजार पाँच सय ८७ जनाले उपत्यका छाडेका छन्। सोही अवधिमा काठमाडौं उपत्यकामा दुई लाख २० हजार २० मानिस भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ।

पछिल्लो एक सातामा २६ हजार ६५ वटा लामो दूरीका सवारीसाधन उपत्यबाट बाहिरिएका छन् । सोही समयमा २४ हजार दुई सय ४३ वटा सवारीसाधन उपत्यका भित्रिएका छन्। (सोमबारदेखि दसैंका गाडी)

मुलुकको विषम परिस्थितिबीच छोटो समयमा यति ठूलो संख्यामा मानिस दसैं मनाउन घरतर्फ गएको ट्राफिक प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र भट्टले बताए। ‘इन्धन अभाव छ। गाडी पनि चल्न सकेका छैनन्। तराईमा आन्दोलन चलिरहेको छ। राजमार्गमा खाना खुवाउने सबै होटेल सञ्चालनमा आउन सकेका छैनन् तर पनि दसैं मनाउन जानेको भीड लामै छ’, भट्टले बुधबार भने।

दसैंका लागि उपत्यका आसपासका जिल्लामा भित्रने यात्रुको संख्या पनि बढ्दै गएको भट्टले बताए। ‘काम र अध्ययनका क्रममा विभिन्न जिल्लामा रहेका मानिस पनि घरमा दसैं मनाउन उपत्यका भित्रिन थालेका छन’, भट्टले भने, ‘इन्धनको सहज आपूर्ति भएमा यो संख्या अझै बढ्नेछ।’ ‘दुर्घटनाका खवर आउन थालेका छन्’ उनले भने, ‘यसलाई रोक्न हामीलाई चुनौती थपिएको छ।’ यसअघि क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना बढेको भन्दै प्रहरीले बसको सिटमा बाहेक अन्य स्थानमा यात्रु राख्न रोक लगाएको थियो। तर मुलुककै बाध्यता भएको भन्दै यसपालि यात्रुलाई प्रहरीले बसको छतमा बस्न र भित्र उभिन दिइरहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव शरद सिटौलाले धेरै यात्रु ज्यान जोखिममै पारेर दसैंका लागि घर जान थालेको बताए।पूर्वी तराईका क्षेत्रमा असुरक्षाका कारण राम्ररी सवारीसाधन चल्न नसक्दा यात्रुले सास्ती खेप्नुपरेको उनले बताए।

यात्रा कठिन भए पनि दसैंका लागि उपत्यका छाड्नुपर्ने बाध्यता रहेको यात्रुको दुःखेसो छ। ‘वर्ष दिनको चाड, दसैं हाम्रा लागि महत्वपूर्ण छ, अघिपछि आउने समय पनि हुन्न त्यही भएर उभिएरै काठमाडौं आएँ,’ गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका बुटवलमा व्यवसाय गर्दै आएका ललितपुर लुभुका दिनेश चापागार्इंले भने, ‘दसैं मनाएर फर्किने कसरी भन्ने मात्रै पिरमात्रै लाग्न थालेको छ।’

गत वर्ष यो समयमा ६ लाख मानिसले उपत्यका छाडेका थिए। दसैं मनाउन २० लाख मानिसले काठमाडौं छाड्ने गरेका छन्।

समूह बनाएर अनुगमन दसैंका लागि घर जाने यात्रुले बढी भाडा लिएको गुनासो गर्न थालेपछि यातायात व्यवस्था विभागले पाँचवटा समूह बनाई बुधबारदेखि अनुगमन थालेको छ।

लामो दूरीमा चल्ने सवारीसाधनले टिकट नभएका यात्रुसँग बढी भाडा लिएको गुनासो आएको छ।

उपत्यका आसपासमा चल्ने छोटो दूरीका सवारीसाधनले समेत दोब्बर भाडा उठाउने गरेका छन्।

‘काठमाडौंबाट हेटौंडा, चितवन, भैरहवा, पोखरा जाने तथा काठमाडौं आसपासका जिल्लामा चल्ने सवारीसाधनले सरकारले तोकेभन्दा चौबरसम्म बढी भाडा लिएको गुनासो आएको छ’, विभागका प्रवक्ता वसन्त अधिकारीले भने, ‘त्यसको अनुगमन गर्न र गल्ती गर्नेलाई कारबाही गर्न विभागका पाँचजना उपसचिवको नेतृत्वमा पाँचवटा समूह परिचालन गरिएको छ।’