मुख्य समाचार

पल्टनबाट दशैँ मान्न धादिङ आउन लागेकालाई परिवारलै भने, दशैँमा धादिङ आउदा ग्यास र पेट्रोल लेउ,

By Dhading News

October 18, 2015

धादिङ- कार्तिक १, – दसैं मान्न तराई वा भारतबाट घर आउँदै हुनुहुन्छ? त्यसो भए अरू कोसेली नकिन्नुस्। आफ्नै भान्सालाई ग्यास र साथीभाइलाई अलिकति पेट्रोल ल्याइदिनुहोस्। पाउनेले ७ पुस्तालाई पुग्ने शुभकामना दिनेछन्। भारतको भोपालस्थित पल्टनमा कार्यरत सत्यदेवी ४, धादिङका भद्रबहादुर घले बिदामा आउन लागेका थिए। पहिलेका दसैंमा आउँदा लुगाकपडा र अरू सरसामान ल्याउँथे। ‘यसपाला ग्यास ल्याउनु भनेकी छु,’ छोरा पढाउन सदरमुकाममा डेरा लिएर बसेकी उनकी श्रीमती जोरमायाले भनिन्, ‘६ वटा सिलिन्डर बोकेर आउँदै हुनुहुन्छ रे। थाहा छैन, त्यति धेरै ल्याउन पाउनुहुन्छ कि हुन्न।’ जोरमायाले मात्र होइन, भारतमा काम गर्ने ज–जसका आफन्त फर्किंदै छन्, सबैले ग्यास नै माग गरेका छन्। सबैका परिवारबाट त्यसका लागि फोन गइसकेका छन्। राजधानी र आसपासका जिल्लाभन्दा तराईका सीमावर्ती इलाकामा तुलनात्मक रूपमा इन्धन पाउन सजिलो छ। घरमा हुनेलाई त्यो थाहा छ। दाङको बैंकमा काम गर्ने श्रीमान्लाई धादिङ बीचबजारकी गृहणी नीरमाया श्रेष्ठले फोनमा भनिन्, ‘घर आउँदा लुगाकपडा, खसी–बोका, घिउ, कुखुरा केही चाहिँदैन। दाङमा ग्यास पाइन्छ रे, त्यही लिएर आउनू। यता साह्रै सकस पर्‍यो।’ श्रीमतीले शुक्रबार फोन गरेलगत्तै श्रीमान्‌ले ५५ सयमा ग्यास किने र रात्रीबस चढे। हुन पनि पश्चिम र पूर्वी नेपालका दक्षिणी भागबाट दसैंमान्न आउने सबैजसोले ५ देखि १० लिटर पेट्र्रोल र पाएसम्म ग्यासको सिलिन्डर ल्याउने गरेका छन्। घरबाट ताकेता पनि तिनै चिजको हुन्छ। ‘साथीभाइ तारन्तार फोन गरेर पेट्रोलकै कुरा गर्छन्,’ बाँकेका गाविस सचिव शिव ढकालले भने, ‘कतिलाई ल्याइदिनु खै?’ धादिङमा ग्यास आपूर्ति गर्ने चितवनको कम्पनी बाबा ग्यास र जिल्लामै रिफिल सेन्टर भएका श्रीकृष्ण र गीता ग्यासमा नाकाबन्दीपछि एउटा पनि जगेडा छैन। सदरमुकाममा हाहाकार भएको छ। जंगलमा दाउरा खोज्ने र बेच्ने नियमित व्यवसायी नहुँदा त्यो पनि पाइन छाडेको छ। ‘भूकम्पले भत्काएको घरको दाउरकाठ चिरेर बालिरहेका छौं,’ सदरमुकाममा बस्ने पूर्वप्रहरी हवल्दार वीरबहादुर सिंहले सुनाए। पेट्रोलको हाहाकार उस्तै छ। अधिकांश मोटरसाइकल घरघरमै थन्किएका छन्। सडक सुनसान हुँदै गएको छ। जिल्लामा इन्धन नपाएपछि राजमार्ग मलेखु बजारका आधा दर्जन व्यापारी आफैं ठोरी पुगेका छन्। माडी हुँदै ठोरी गएका ६ जनाले ३ दिन बसेर २ सय लिटर पेट्रोल ल्याएको बताए। पूर्व र पश्चिमबाट राजधानी आउने बसहरूले उतैबाट ट्यांकी भरेर आउनुका साथै फर्किंदाका लागि जर्किनमा बोकेर आउने गरेका छन्।कान्तिपुरबाट