मुख्य समाचार

देश विकासको आधार सहकारी – पूर्व अर्थमन्त्री अधिकारी

By धादिङ न्यूज

January 09, 2016

काठमाडौँ, २५ पुस । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर सुधारका लागि सहकारी अभियानलाई अझ सशक्त रुपमा देशव्यापीरुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो– देशमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी विकासमा लगाउन देशैभरि हजारौँको सङ्ख्यामा रहेका सहकारीको ठूलो योगदान रहेकोले अब देश विकासमा सहकारी सञ्जालको सदुपयोग गर्नेगरी नीति निर्माणको आवश्यकता छ ।

सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अठारौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्व अर्थमन्त्री अधिकारीले अबको नेपालको प्राथमिकता आर्थिक समृद्धि हो भन्दै त्यसका लागि सहकारीसमेत संलग्न तीन खम्बे अर्थनीतिलाई थप मजबुद बनाउनुपर्ने धारणा राख्नु भयो ।

सो कार्यक्रममा उहाँले उक्त सहकारीद्वारा गरिब एवम् जेहेन्दार विद्यार्थीलाई दिइएको रु १५ हजारको छात्रवृत्ति नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत छात्रा आयुषा महर्जनलाई प्रदान गर्नुभयो ।

सो सहकारीका अध्यक्ष प्रज्वल थान्जुले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उक्त संस्थाले रु १५ लाख ९१ हजार सञ्चालन मुनाफा गरेको देखिएको छ । अध्यक्ष थान्जुले सो सहकारीले गत वैशाखको भूकम्पपछि सिन्धुपाल्चोकमा खाद्यान्न एवम् लत्ताकपडा सहयोगका साथै गोरखाको एक विद्यालयमा कक्षा कोठा निर्माण गरेको जानकारी गराउनुभएको थियो ।

सो संस्थाले ६.९१ प्रतिशत नगद लाभांस वितरण गर्ने जानकारी पनि उक्त कार्यक्रममा दिइएको थियो ।