अनलाइन / पत्रपत्रिकाबाट

एमालेमा केन्द्रीय विभागलाई पूर्णता दिने तयारी

By धादिङ न्यूज

January 10, 2016

काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का केन्द्रीय विभागका सदस्यको मनोनयनका आन्तरिक गृहकार्य भइरहेको सो पार्टीले जनाएको छ ।

एमालेमा गत चैतको पहिलो साता विभिन्न ५४ विभाग र तिनका प्रमुख, उपप्रमुख, इञ्चार्ज र सहइञ्चार्ज, फाँट र अञ्चलमा केन्द्रीय नेताहरुको जिम्मेवारी तोकिएपनि सदस्यको मनोनयन हुन बाँकी छ । हरेक विभागमा समावेशीताका आधारमा बढीमा २५ सदस्य रहनेछन् ।

एमाले केन्द्रीय सङ्गठन विभागले तयार गरेको विभागका सदस्यको मापदण्ड र प्रारम्भिक नामावलीलाई केन्द्रीय सचिवालयमा पेस गरिएको छ । केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आगामी माघ ३ गते बस्ने सचिवालयको बैठकले माघको पहिलो साताका लागि स्थायी समितिको बैठकको मिति तोक्ने तयारी भएको जानकारी दिनुभयो ।

सरकारका गतिविधि, मुलुकको समसामयिक स्थिति र पार्टीले सञ्चालन गरेको संविधानको प्रचार तथा प्रशिक्षण कार्यक्रमबारे पनि स्थायी समितिमा समीक्षा हुने तयारी भएको छ ।