अधिवक्ता, तोला कुमारी पाठक
घटना नं १ ः मेरो नाम सावित्रि पाठक हो । म धादिङ जिल्ला ज्याम्रुङ गाविस वडा नं ६ टारीबेशि स्थित मिल डाडामा बस्छु । हाल म ३३ वर्षको भए । मेरो विवाह १६ वर्षमा भएको हो हाल मसँग १ छो
री र १ छोरा छन् । म साक्षर मात्र छु । मेरो श्रीमान वैदेशिक रोजगारमा जानु भएको ११ वर्ष भयो । उहाँ दुवईको एउटा कम्पनीमा काम गर्नु हुन्छ । कहिले काहि आउने जाने भईरहन्छ । म नेपाली नागरीक हु र नागरीक खुल्ने नागरीकता पनि छ । म र मेरो श्रीमान दुवै सँग नागरीकता छ । मेरो सासू ससूरा लगायत घर परिवारसँग म आज भन्दा १४ वर्ष पहिले देखि छुट्टै घर, भान्सागरी बसि आएको छु । श्रीमान र मेरो दुखले गाँउमा एउटा माटोको घर बनाएका पनि छौ जुन यहि बैशाख १२ गते र २९ गतेको भूकम्पले हल्लाएर थर्काएर बस्न नमिल्ने भएको छ । हाम्रो आर्थिक अवस्था कमजोर भएको र लालाबाला पाल्न पर्ने बाध्यताले श्रीमानलाई बाहिर काम गर्न पठाए । तर उहा नेपालबाट गएको भन्दा धेरै दुव्लो र रोगि हुनु भएको छ । कति पटक काम गर्दा बेहोश भएर हस्पिटल भर्ना हुनु भएको खवर आउछ । जुन वेला हाम्रो घरमा रुवाबासी हुन्छ अनि विस्तारै काम गर्न थाल्नु हुन्छ वारम्बार यस्तो भईरहेछ । हाम्रो दुखले थोरै खेत किनेका थियौ त्यो पनि यो वर्ष भूकम्पले पानीको मुहान सुकेका कारण एक गाज खेत रोप्न पाएनौ । भूकम्प गए पश्चात छोराछोरी लुगाको पोको बनाएर सुत्ने ठाँउ खोज्दै हाम्रो दिनहरु वितिरहे । श्रीमान विदेशमा भएको म गाँउमा खुल्ला ठाँउमा सुत्न कति समस्या, मनमा डर होला भन्ने कुरा त भोग्नेलाई थाहा होला । रात परेर ओछयानमा आनन्दले निदाउनु को साटो भूकम्पले भत्किएको यस घरले नै चेपेर मरिएला भन्ने त्राही त्राहीमा बाचिरहेका छौ । भूकम्प आए पश्चात राहतको नाममा हाम्रो गाविसमा धेरै सामाग्रीहरु आए अनि सरकारले भूकम्प प्रभावित लाई दिने भनेर पैसा पनि वाडियो शुरुमा १५ हजार, अनि न्यानो लुगाको लागि आउने १० हजार । शुरुकै अवस्थामा प्राविधिक को टिम मेरो घरमा आएर जाचेर पनि जानु भएको थियो र उहाले पूर्ण क्षति भएको घर भन्नु भएको थियो । यो गर्ने कार्यमा गाँउघरका साक्षी पनि हुनुहुन्छ । गाविसमा रु १५ हजार बाडने खवर सुनी म गए तर मेरो वा श्रीमानको नाममा भूकम्प पिडित कार्ड नै रहेनछ । के भएको हो भनी बुझदा छुटेको रहेछ भन्ने उत्तर आयो । म कालो मुख लाएर रित्तो हात फर्के । अरु गाँउ घरकाले १५ वटा हात्ति भएको नोट लिएर आए । न्याने ाकपडा बाडने बेला त बन्यो कि भनि गाविस सचिवलाई सोध्दा पनि थाहा छैन निर्णय हुदैछ भन्नु हुन्छ । के अरुले राहत पाउदा मैले पाउनु पर्दैन ? म र मेरो बच्चा लाई जाडो हुदैन ? गाउघरका सवै जनालाई राहत वितरण गर्नु भयो मलाई नदिदा अन्याय भएको महशुस हुन्छ कि हुदैन ? राज्यले दिने राहतमा हामी जस्ता निमुखाको कुरा सुन्नु पर्छ कि पर्दैन ? के हामी श्रीमान बैदेशिक रोजगारमा गएका परिवार हरु भूकम्प पिडित होईनौ ? म जस्तै अरु जस्तै मैले पनि भूकम्प कार्ड र राहत पाउछु की पाउदिन ? पाउने भए कहिले पाउछु ? सिडियो साव जवाफ पाउछु कि ? घटना नं २ ः मेरो नाम मञ्जु परियार हो । म गोर्खा जिल्ला घर भइृ १५ वर्ष अगाडीबाट धादिङ जिल्ला सल्यान्टार गाविस वडा नं ७.मा बस्दै आईरहेको छु । हाल म ५० वर्षको भए । मेरो घर गोर्खा जिल्ला थुमी गाविस घर हो । मेरो श्रीमान धेरै अगाडी मृत्यु भईसकेको छ । म तीन छोरीको साथ बस्दै आईरहेको छु । एउटा छोरीको विवाह भईसकेको छ भने २ छोरी मसँग बस्छन । मेरो नागरीकता छैन । नागरीकता बनाउनको लागि मैले यस सल्यान्टार को गाविसमा पनि पटक पटक भनि सकेकी छु तर यहाबाट बन्दैन भन्दैन भन्ने जवाफ पाएकी छु । धेरै जनालाई भन्दा पनि कहि कतैबाट मैले नागरीकता प्राप्त गर्न सकेकी छैन । मेरो नागरीकता नभएको कारण विवाहित छोरीको समेत विवाह भएको छैन । अरु दुई वटा छोरीहरुको पनि नागरीकता बन्ने कुनै सम्भावना छैन । मैले ज्याला मजदुर गरी छोरीहरु र मेरो जिवन निर्वाह गर्दै आइरहेको छु । भूकम्प जानु भन्दा ४, ५ महिना पहिले देखि म एक जना व्यक्तिको घरमा बस्दै आएको थिए । भूकम्पले बसेको घर ध्वष्त बनाएपछि धेरै दिन पाटाको बास भयो किशोरी छोरीहरु र आफनो सुरक्षा र गाँसबासको लागि भौतारि रहे । अन्त्यमा बसिरहेको घरको घरबबेटिले केही समय वस्न दिने भएकाले म जेनतेन बारेर त्यहि बस्दै आईरहेको छु । भूकम्प प्रभावितको नाममा यस गाविसमा धेरै राहतहरु आए । वितरणको बेला छेउमा हेरीरहदा कतिले दया गरेर खाद्यन्न लगायतको केही सामाग्रि त पाए । केएर नेपालले जस्ता वितरणको वेला गाविसमा बैठक बसि मेरो माग फारम भरेर जस्ता पाउन पनि ठूलै संघर्ष गर्नु परयो । अन्तिममा जस्ता त पाए । वनाउने ठाँउ छैन । बसेको घरको राहत रु १५००० र न्यानो कपडाका लागि आएको १० हजार घरबेटिले लैजानु भयो यो घर पनि उहाको भएर होला । यसरी राज्यले दिने राहतमा म जस्तो एकल महिलाको पहुच पुग्न सकेको छैन । म भूकम्प पिडित हो की होईन भन्ने कुराको् विवाद भो । हामी जस्ता एकल महिला जसले सन्तानको सहित पहिचान दिनका लागि पहुच नभएका भूकम्प पिडित कार्डबाट बन्चित नै हुने हो की ? यो भूकम्प पिडित कार्ड जग्गा र घर हुनेका लागि हो की हामी जस्ता विपन्न, निमुखा एकल महिलाले पनि पाउछौ की ? अरुले बुझेको राहतले हामीलाई कसरी आहत दिन्छ र सिडियो साव ? घटना नं ३ ः म हाल २७ वर्षको भए । मेरो घर उत्तरी धादिङ पर्छ मैले केही समय अगाडी प्रेम विवाह गरे । हाल मैले बच्चा जन्माएकी छु । एक महिनाको भयो । दुभाग्यबस भूकम्प अगाडि मेरो श्रीमानले मलाई छोडेर भाग्नु भयो आज सम्म खोजी कार्य जारी छ । भूकम्प पिडित विस्थापितको क्याम्पमा बस्दै आए बच्चा पेटमा आएको र श्रीमान भागेको कारण मैले तिनै क्याम्पमा वस्नेहरुले मेरो गर्भ र म माथि विभिन्न प्रकारका लाल्छना लगाए । मेरो अवस्था नाजुक भएको देखेर एक संस्थाको सहयोगमा म कुनै स्थानमा बसीरहेकी छु । म सँग नागरीकता थियो भूकम्पका कारण पुरियो भूकम्प कार्ड छैन । राज्यले दिने कुनै पनि राहत पाएको छैन । मलाई भूकम्प कार्ड दिन मिल्छ की मिल्दैन ? यदि मेरो ठाँउमा श्रीमान र बच्चा भएको भए त राज्यले कार्ड दिन्थ्यो होला नी ? म निमुखा पिडित महिला भएकै कारण कार्ड नपाउने हो त ? विनासकारी भूकम्पका कारण हाम्रो जिल्लामा महिला हरु पुरुषको तुलनामा बढि प्रभावित भएका छन् । भुकम्प कार्ड नपाउनेमा पनि महिला हरु नै वढि छन् माथि उल्लेखित व्यक्तिहरु यथार्त हुन र यो प्रतिनिधि मुलक घटना मात्र हुन यसमा पिडितको नाममा राहत दिने भनेको विपन्न, निमुखाहरु, केही नभएका हरु भन्दा पनि राज्यमा पहुच भएको, सम्पती, घर, लालपूर्जा भएको व्यक्तिहरुको लागि भूकम्प पिडित कार्ड र राहतमा पहुच पुगेको छ । महिला भएकै कारण, श्रीमान नभएका, विपन्न महिलाहरु नै भूकम्प पिडित कार्डबाट वञ्चित भएका छन् । जसलाई सहयोग गर्नु पर्ने हो जसलाई सहयोगको आवश्यकता छ ति वर्ग नै आज राहत पाउन बाट बन्चित छन् ।