अनलाइन / पत्रपत्रिकाबाट

डाक्टर होइनन् जिवन, तर यसरी जोगाए भुकम्पमा हजारौंको जीवन

By Dhading News

April 24, 2016

वैशाख १२ मा आएको ७.६ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकनजिकै थिए, जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ल । धादिङको त्रिपुरेश्वर गाविसस्थित खहरेमा तीनदिने स्वास्थ्य शिविर चल्दै थियो । शनिबार भएकाले त्यस क्षेत्रकै दुई सय ५० जनाजति ओइरिएका थिए । शिविरको सुपरभिजनका लागि पुगेका मल्ल एउटा भवनबाट अर्को भवनमा जान आँगनमा टेक्नासाथ हल्लाइहाल्यो ।

चार हातखुट्टा टेकेर चौरमा निस्किँदा निस्किँदै नजिकै पहिरो गएको देखियो । घरहरु भत्किए । ठाउँठाउँमा चिरा प¥यो । शिविर चलिरहेको विद्यालयका आठवटा भवनमध्ये सातवटा गल्र्यामगुर्लुम ढले । भवनबाट उछिट्टिएर आएको ढुंगाले लागेर एक महिलाको देब्रे खुट्टा च्याट्टै काटियो । अनुहारमा रगताम्मे भयो । शिविरका सामग्री भवनभित्रै पुरिए ।

सदरमुकाम धादिङबेसीबाट खबर आयो– तत्काल आउनू । मल्ल आफ्नो मेडिकल टिमलाई छाडेर चार घन्टाको मोटरबाटो भएर जिल्ला अस्पताल पुग्दा वातावरण कोलाहलमय थियो । अस्पतालको वार्ड भरिएर आँगनमा सुताएर उपचार गरिँदै रहेछ । भूकम्पमा परी खुट्टा फ्याक्चर भएर थला परेकी खाल्टे गाउँकी ९१ वर्षीया बज्यैलाई राती एक बजे सदरमुकाम ल्याएर उपचार गराएको क्षण उनी बिर्संदैनन् ।

भूकम्पबाट अति प्रभावित जिल्ला भएकाले तत्काल विपद् व्यवस्थापनमा जुट्नु जरुरी थियो । भोलिपल्ट बिहानै डिस्ट्रिक ¥यापिड रेस्पोन्स टिमको बैठक राखेर स्वास्थ्यकर्मी परिचालन गरे । उनले ९१ आइटम सर्जिकल सामग्रीलगायत औषधी सूची तयार पारेर डब्लुएचओ, युनिसेफ, जीआइजेड, हिमालयन हेल्थकेयर, वनहर्ट वल्र्डलाइड, केयर नेपाललाई पठाए भने ४६ गाविस र १ नगरपालिकाका हेल्थपोस्ट इन्चार्ज, अहेब, अनमीलाई तत्काल आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिए । नभन्दै बिदामा भएका कतिपय स्वास्थ्यकर्मी तीन घन्टा हिँडेर राति नै पुगे ।

अवस्था कति भयावह भने भूकम्पबाट जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भयो भने ६ जना घाइते भए । ३३ स्वास्थ्य संस्थामा पूर्ण क्षति भयो भने १३ वटामा आंशिक क्षति । १६ वटा स्वास्थ्य सेवा विन्दु, ६३ वटा सुरक्षित प्रसूति सेवा केन्द्रमा पूर्ण क्षति पुग्यो ।

यति हुँदाहुँदै पनि धादिङका सम्पूर्ण स्वास्थ्य संस्थामा एक हप्ताभित्रै  पालमुनि सेवा सुचारु भयो । औषधी, औजार, उपकरण, फर्निचरको व्यवस्था गरियो । जिल्लामा एकसाथ २२ वटा मेडिकल टिम परिचालित भयो । उसो त कतिपय मेडिकल टिम भनेको ठाउँमा गएनन्, रोजेको ठाउँमा मात्र गए । रोजेको ठाउँमा जान खोज्ने इन्टरनेसनल मेडिकल टिम (आइएमटी)लाई उनले फकाईदिए ।

सबभन्दा ठूलो समस्या उत्तरी भेगका पाँच वटा गाविस तिप्लिङ, सेर्तुङ, झार्लाङ, री र लापामा थियो । हिमालयन हेल्थ केयरले ल्याबसहितको तीन, तीन दिनको मेडिकल टिम पठाइदियो । स्वास्थ्य मन्त्रालयको बालस्वास्थ्य महाशाखाले कृष्ण पौडेलको नेतृत्वमा हेल्थ एन्ड न्युट्रिएसन टिम पनि परिचालित भयो । १२ हजार बालबालिकामध्ये ९६ जनामा कडा कुपोषण भेटियो । त्यही कारण ७५ प्राविधिक दरबन्दी तत्काल पूर्ति भयो । सभासद विकास कोषबाट १० जना स्टाफ नर्स थपिए ।

भूकम्पपछिको तीन हप्ता निकै चुनौतीपूर्ण रहेको मल्लको अनुभव छ । बिहान सात बजेदेखि राती ९ बजेसम्म उनी व्यस्त हुन्थे । उनले कहाँ के गर्ने, त्यो जिम्मेवारी कसले लिने र कहिलेसम्म पूरा गर्ने भन्ने इमर्जेन्सी रेस्पोन्स प्लान पनि बनाए ।

यस्तो महाविपत्तिमा औषधी, उपकरण, दक्ष जनशक्तिको अभाव त सामान्य भइहाल्यो । रिफरल केसमा एम्बुलेन्सको समस्या झेल्नुप¥यो । उनी सुनाउँछन्, ‘भारतको बिहार राज्यले पाँचवटा एम्बुलेन्स पठाइदिएको थियो । तर, त्यसमा इन्धन भर्न सक्ने अवस्थामा हामी थिएनौं ।’ भूकम्पका बेला जिल्लामा १ हजार ४ सय ३७ घाइतेले उपचार पाए । १ सय ८४ जनालाई भरतपुर, पोखरा, काठमाडौं रेफर गरियो । जिल्ला अस्पतालका डा श्याम ढोडारी लगातार ९६ घन्टासम्म लगातार खटिएको वरिष्ठ प्रशासक मल्ल सम्झिन्छन् । उनी भन्छन्, ‘हाम्रो ठूलो सफलता भनेकै महामारी फैलिन पाएन ।’

घरबारविहीन भएर पालमा बसेका गर्भवती, सुत्केरी र बालबालिकामा कुपोषण र संक्रमणको जोखिम थियो । अब त्यही कुपोषणले निमोनिया संक्रमण हने त्रास छ । त्यसका लागि उनको कार्यालयले पाँच ठाउँमा सेल्टर होम व्यवस्था गरेको छ भने नौ ठाउँमा आउट प्यासेन्ट थेरोप्युटिक सेन्टर (ओपिटी) स्थापना गरेको छ ।

मल्लको अनुभवमा भूकम्प आफैँमा विपत्ति मात्र होइन, सेवा सुदृढीकरण र पुनःनिर्माणको अवसर पनि हो । अब क्षति भयो भनेर दुःखमनाउ गर्ने भन्दा पनि गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने उनको धारणा छ । २०१७ सालमा पाल्पाको हुमिनमा जन्मिएका हुन् मल्ल । महाराजगन्ज क्याम्पसबाट हेल्थ असिस्टेन्ट (एचए) गरेलगत्तै सल्यानको कजेरी हेल्थपोस्टमा सेवा दिएका मल्लले २०३९ सालयता पाल्पा, स्याङ्जा, म्याग्दी, नवलपरासी, मनाङ, लमजुङ, रौतहट, बाँके र धादिङमा काम गरिसकेका छन् ।

–स्वास्थ्य खबरपत्रिका