कभर फोटो

महेशदोभानको संरक्षणमा स्थानीय युवाहरु सक्रिय

By धादिङ न्यूज

August 17, 2016

चौतर्फि अतिक्रमणको चपेटामा परेर ओझेलमा पर्दै आएको धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थल महेशदोभानको संरक्षणमा स्थानीय युवाहरु सक्रिय भएका छन । त्रिशूली नदी र महेशखोलाको संगम स्थल भएको कारण महेशदोभान नामाकरण हुन पुगेको यस स्थान पछिल्लो समय ओझेलमा पर्दै आईरहेको थियो । महेशदोभानमा अम्लेश्वर महादेवको मन्दिर समेत रहेको छ । एक सय बर्ष अघिनै महेशखोलालाई गल्छी काटेर त्रिशूली नदीमा मिसाईएपनि महेशदोभानको नाम भने रहिरहेको छ । अम्लेश्वर महादेवको मन्दिरमा हरेक बर्षको जनैपूर्णिमा,तिज,ऋषिपञ्चमी, ठुलो एकादशी र शिवरात्रीका वेला भव्य मेला लाग्ने गर्दछ भने अरु समयमा पनि महादेवको दर्शन गर्न भक्तजनहरु आउने गर्दछन । मन्दिर परिसर केही व्यक्तिहरुको निजी स्वार्थले सांघुरिंदै जानुका साथै चौतर्फि अतिक्रमणमा पर्दै गएपछि यहाँको पुरातात्विक महत्व, धार्मिक तथा सांस्कृतिक पहिचानकबो संरक्षण र ओझेलमा परेको वजार क्षेत्रलाई देश विदेशमा चिनाउन स्थानीय युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘महेशदोभान युवा’ नामको ग्रुप तयार पारी सहयोगका लागि आव्हान गरेकोमा स्थानीयका साथै अध्ययन तथा रोजगारीका लागि विदेशमा रहेका युवाहरुबाट स्वतस्र्फुत रुपमा चलाईएको अभियानले अहिले सम्म करिव ४५ हजार संकलन भईसकेको र होर्डिङ बोर्ड तयार गरी त्यस्लाई राख्न २६ हजार खर्च भएको युवा समुहका अभियन्ता विपिन मल्लले वताए ।

युवाहरुले वजार क्षेत्रमा महेशदोभान लेखिएको दुईवटा र मन्दिर क्षेत्रको नाम लेखिएको एउटा होर्डिङ वोर्डका राखेका छन ।