चितवन, २ असार(धादिङन्युज )। शनिबारदेखी चितवनको कुरिनटारस्थित त्रिशूली नदीमा डुबेर बेपत्ता भएका पाँचजनाको आज बिहानैदेखि खोजी कार्य भइरहेको छ। सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
शनिबार अपराह्न त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एकजनालाई नदीले बगाएपछि बचाउने क्रममा क्रमशः पाँचजनालाई नदीले बगाएको थियो।
चितवन प्रहरीका अनुसार बेपत्ता हुनेमा भरतपुर–५ का मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा मगर र जनक राउत रहेका छन्। सो घटना पानी घुम्ने ठाउँमा भएको र नदीमा पानीको बहाव बढेकाले खोजी कार्यमा कठिनाइ भएको छ। बेपत्ता भएकाहरूलाई नदीले बगाएर तलतिर लगेको हुन सक्ने आशङ्कामा नारायणी नदी आसपासमा पनि खोजी भइरहेको प्रहरीले जनाएको हाम्राकुरा डटकमले आफ्नो समाचारमा लेखेको छ ।