हाम्रो पालिका

संक्रमणकालिन न्याय र कानूनी शासनका लागि सत्य निरुपण आयोग गठन हुनुपर्छ– जिल्ला न्यायधिश पोखरेल

By Dhadingnews.com

June 17, 2013

धादिङबेसी,३ असार ( धादिङन्युज ) । संक्रमणकालिन न्याय र कानूनी शासनका लागि सत्य निरुपण आयोग गठन भएमा मात्र पिडितले न्याय पाउन सक्ने धादिङ जिल्ला अदालतका न्यायधिश रमेशराज पोखरेलले वताउनु भएको छ । दिगो शान्तिका लागि राजनीतिक स्थिरता संक्रमणकालिन न्याय र कानूनी शासन बिषयक अन्तरक्रिया कार्यक्रममा ‘संक्रमणकालिन न्याय र कानूनी शासन’ बिषय कार्यपत्र प्रस्तुत गर्दै न्यायधिश पोखरेलले यस्तो वताउनु भएको हो । मुलुक संक्रमणकालिन परिवेशमा गुज्रिएका कारण मुलुकमा धेरैखाले समस्या देखिएकाले विगतमा भएका मानवअधिकार उल्लंघन र दण्डहिनताको अवस्थालाई सम्वोधन हुनुपर्ने पोखरेलले वताउनु भयो । विगतमा के भए भन्दा पनि अव ति घटनालाई कसरी न्युनिकरण गराउने भन्ने विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानूनी व्यवस्था र अन्य देशका अनुभवहरुलाई आधार मान्नुपर्ने उहांको सुझाव थियो । स्थानीय शान्ति समिति धादिङद्धारा सोमबार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रम शान्ति समितिका संयोजक खेमप्रसाद लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समितिका पुर्व संयोजकहरु रामवहादुर भण्डारी,वाशु तिमिल्सिना लगायतले सम्वोधन गर्नुभएको थियो । जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,मानवअधिकारकर्मीहरु,विभिन्न जातिय संघ  संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला न्यायधिश पोखरेलले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि सहभागिहरुले आफ्नो धारणा राखेका थिए । सहभागीहरुको धारणा माथि न्यायधिश पोखरलले जवाफ दिनु भएको थियो ।