हाम्रो पालिका

मौवाखोला स्थित पृथ्वीलोकमार्गमा मोटरसाईकल पल्टिंदा दुईजना सख्त घाइते

By Dhadingnews.com

June 17, 2013

केशव अधिकारी धादिङ,४ असार । धादिङ जिल्लाको जोगिमारा गाविस वडा नम्बर १ मौवाखोला स्थित पृथ्वीलोकमार्गमा मंगलवार राती १ वजेतिर मोटरसाईकल पल्टिंदा दुईजना सख्त घाइते भएका छन ।

बुटवलवाट काटमाण्डौ आउंदै गरेको बा ४४ प ९५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्टिंदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन । घाईतेहुनेहरुमा काठमाण्डौ सितापाईला बस्ने मोटरसाईकल चालक नारायणगोपाल मानन्धर र सोही मोटरसाईकलमा सवार अमृत्त वलामी रहेका छन । दुर्घटनाको खवर पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल दुवैजनालाई उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएको जोगिमारा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक बालकृष्ण भट्टराईले वताए । सोमवार विहानै देखि परिरहेको बर्षाका कारण सडकमा लेदो माटो जम्नेक्रम बढेकोले सोही लेदो माटोमा चिप्लिएर मोटरसाईकल दुर्घटनामा परेको हुन सक्ने भट्टराईले वताएका छन । सडक भन्दा माथिवाट झरेको पहिरोले सोमवार तीनघण्टा पृथ्वीलोकमार्गको जवाङमा सवारी  आवागमन अवरुद्ध भएपनि रातीको समयमा भने कुनै अवरोध नआएको प्रहरीले जनाएको छ । धादिङ जिल्लाको जोगिमारा गाविस क्षेत्रको पृथ्वीलोकमार्गमा सडक भन्दा माथि जथाभावी निर्माण गरिएका ग्रामीण सडकका कारण बर्षेनी पहिरो खसेर समस्या आउने गरेको छ ।  अविरल वर्षासंगै सडक माथीबाट आएको पहिरोले दिउँसो करिब २ बजेदेखि अवरुद्ध बनेको पृथ्वीराजमार्ग राती अवेरमात्र एकतर्फी संचालनमा आएको थियो । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको जोगिमारा गाविस वडा नम्बर १ जवाङखोलामा सडक माथीबाट झरेको पहिरो र लेदो माटोले सडक पुरिएपछि राजमार्ग अवरुद्ध बनेको हो ।    लोकमार्गमा गएको पहिरोका कारण यात्रुहरु राती अवेर सम्म गन्तव्यमा पुग्न सकेका थिएनन् । पहिरो गएको ठाउँ नजिक पलसहरु नभएका कारण यात्रुहरु समस्यामा परेका थिए । जोगिमारा क्षेत्रमा गएको पहिरोले रोकिएका यात्रुहरु चिया र खाजा समेत खान समेत समस्यामा परेका थिए ।      सोमवार दिउँसो ३ बजेदेखि नै मुग्लीनस्थित सडक विभागको डोजरको सहायतामा प्रहरी र स्थानीयले बाटो खुलाउने प्रयास गरेका थिए ।  यस क्षेत्रमा बर्षायामको बेला नियमित जसो पहिरो खस्नेगर्दा काठमाण्डौबाट अन्य जिल्ला बाहिरिने लामो तथा छोटो दुरीको सवारी र काठमाण्डौ भित्रने सवारी बाटोमा नै अलपत्रमा पर्ने गर्दछन । सोमवार पनि काठमाडौदेखि करिब ८५ किलोमिटर टाढा रहेको त्यस क्षेत्रमा पहिरो झरेको ठाउँदेखि करिब ३ किलोमिटर क्षेत्रमा एक हजार भन्दा बढि सवारीका साधन रोकिएका थिए । केहीदिन अघिदेखि परेको अविरल वर्षासंगै सडक माथीबाट आएको पहिरोले सडक पुरिएपछि सडक अवरुद्ध बनेको हो । सडक माथीबाट पहिरो निरन्तर बगिरहेकोले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । यसैगरी दुईदिनदेखि लगातार परेको वर्षाका कारण राजमार्गको ठाउँठाउँमा गरी १० भन्दा धेरै पहिरो गएको प्रहरीले जनाएको छ ।