हाम्रो पालिका

जातिय छुवाछुत तथा भेदभाव बिरुद्ध अन्तरक्रिया

By Dhadingnews.com

June 17, 2013

धादिङ,४  असार(धादिङ्न्युज ) । समाजमा बिद्यमान जातीय छुवाछुत र विभेद बिरुद्ध सामाजिक जागरण फैलाउने उद्धेश्यले जिल्लाका अगुवाहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । स्थानीय शान्ति समितिको आयोजनामा भएको  दिगो शान्तिका लागि राजनीतिक स्थिरता जातिय छुवाछुत तथा भेदभाव बिरुद्ध अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनैतिक दल निकट रहेका जातिय संगठनका प्रतिनिधि,महिला कार्यकर्ताहरु,शान्ति समितिका सदस्यहरु तथा सिमित संचारकर्मीको सहभागिता रहेको थियो । स्थानीय शान्ति समितिका संयोजक खेम लोहनीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा शान्ति समितिका पुर्व संयोजकहरु वाशु तिमिल्सिना र रामवहादुर भण्डारीको बिशेष आतिथ्य रहेको थियो । यसैगरी प्रहरी निरिक्षक सूर्य खडका,महिला तथा बालवालिका कार्यालयको प्रतिनिधि शान्ती बस्नेत,दलित वर्ग उत्थान समन्वय समिति धादिङका उपाध्यक्ष राममाया विक, शान्ति समितिका सदस्य शिवनिधी खनाल र अधिबक्ता टंककुमार श्रेष्ठको आतिथ्य रहेको थियो । कार्यक्रममा अधिबक्ता टंककुमार श्रेष्ठले जातिय भेदभाव तथा छुवाछुतका बिषयमा र अधिबक्ता बिश्वराज अधिकारीले नेपालको सन्दर्भमा जातीय भेदभावको ऐतिहासिक क्रम र भेदभाव उन्मुलनको लागि भएका प्रयासहरु बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी शान्ति समितिका सदस्य ध्रुवराज बिकले नेपालमा जातिय छुवाछुत तथा विभेद र यसको निर्मूलनको अवस्था बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि सहभागीहरुले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।