कभर फोटो

सालको काठ सहित फर्निचर संचालक रामबहादुर पक्राउ

By धादिङ न्यूज

November 13, 2016

धादिङ न्यूज समाचारदाता नीलकण्ठ–धादिङ । चिरानका लागि फर्निचर उद्योगमा राखिएको काठ सहित धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ कुवापानीबाट भंगेरीदेवी फर्निचर उद्योगका संचालक रामबहादुर थापा पक्राउ परेका छन । विना इजाजत रुख कटान गरी काठ बेचविखन गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला वन कार्यालय धादिङले ३ लाख जरिवाना र १ बर्ष कैद सजायँको माग दावी गरेको छ ।

जिल्ला वन कार्यालय धादिङका सहायक वन अधिकृत क्षेत्र विक्रम खांडको कमाण्डमा खटिएको टोलीले थापालाई कात्तिक २७ गते शनिवार निजले कुवापानीमा सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट नियन्त्रणमा लिएको हो ।सहायक वन अधिकृत खांडको नेत्तृत्वमा गएको वन कर्मचारीहरुको गस्ति टोलीले खांडलाई कुनै टाँचा निस्सा नलागेको विभिन्न साईजको साल जातको तछुवा थाम चिरान काठ १ सय ८६ थानको १ सय ३७.१७ क्यु फिट काठ फर्निचर उद्योगमा राखेको भन्दै सो काठ सहित पक्राउ गरिएको जिल्ला वन कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेका थापा लाई वन कार्यालयले बन ऐन २०४९ को दफा घ वमोजिम नियन्त्रणमा लिईएको उक्त काठ गोलियामा परिवर्तन गर्दा १ सय ९२ .४ क्युफिट हुने र प्रति गोलिया आयतनको प्रति रु ८ सयका दरले १ लाख ५३ हजार ६ सय ३२ रुपैयाको विगो कायम भई विगोको दोव्बर हुन आउने ३ लाख ७ हजार २ सय ६४ रुपैया बराबरको विगो र एक बर्ष कैद सजायँको माग गरेको छ ।

घटनाको अनुसन्धान भईरहेको र थप काठ फेला परे सोही अनुसार विगो र जरिवाना थपिने जिल्ला वन अधिकृत इमनाथ पौडेलले वताएका छन । पक्राउ परेका थापाले कुवापानीमा भंगेरीदेवी फर्निचर उद्योग संचालन गर्दै आईरहेका थिए ।