खोजखबर

सित्केन चाबा…..सित्केन चाबा

By धादिङ न्यूज

November 27, 2016

.बुद्धिमान वाईबा

पहिला-पहिला चामलको भात खान दशैं नै कुर्नु पर्थ्यो । म सानै छदाँ दशैंको लागि चामल जोहो गर्न आलु र कोदोको भारी बोकेर बुवा र दाइहरु लाप्साङ्कर्पोको फेदीसम्म पुग्नु हुन्थ्यो अरे । धादिङ र नुवाकोटका गाउँ-गाउँ डुल्दा ६/७ पाथी धान लिएर बुवा फर्किनु हुन्थ्यो । बुवा आइपुगेको दिन हामी दिदी-भाइ बेस्सरी नाच्थ्यौं, चामलको भात खान पाइने भो भनेर । आमाको मुहारमा पनि खुशी हेर्न लायक हुन्थ्यो त्यो बेला । ६/७ पाथी धान ढिकीमा कुट्दा २ पाथी जती चामल निस्किन्थ्यो अरे । ठुलो परिवार अनि पाहुनपात गर्दा २ छाकमा चामल स्वाहा । एक सालको लागि ढुक्कै ।