कभर फोटो

छ बुँदे सार्वजनिक प्रतिवद्धता गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न

By धादिङ न्यूज

December 20, 2016

गाउँ विकास समितिको कार्यालय ढोला, धादिङ्गको आयोजना तथा ग्क्ब्क्ष्म् साझेदारी विकास परियोजना, एक्सन नेपाल, धादिङ्ग र गोगो फाउण्डेसन, काठमाण्डौंको सहकार्यमा गाविसको सार्वजनिक सेवा प्रवाहको प्रभावकारीता विषयक “सार्वजनिक सुनुवाइ” ढोला गाविस वडा नं. ६ मिलनचोकमा सम्पन्न भएको ।

स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ को पूर्ण पालना गर्दै गरिएको सुनुवाईमा नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गर्दै सुधारात्मक पक्षहरुको विषयमा छलफल गर्ने, सेवाग्राही प्रति सेवाप्रदायकलाई जवाफदेही बनाउने र सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाहरुको बारेमा हाकाहाकी प्रश्नोत्तर गराउने उद्देश्यले संचालन गरिएको कार्यक्रममा १८० भन्दा बढी नागरिकको सहभागिता रहेको थियो । जवाफदेही वक्ताहरुमा गाविस सचिव बाबुराम दुवाडी, कृषि सेवा केन्द्र मैदीका जेटिए विष्णु श्रेष्ठ, हेल्थ पोष्ट इन्चार्ज अलि अकबर हुसैन रहेका थिए ।  साझेदार संस्थाका तर्फबाट साना किसान कृषि सहकारी संस्था लि.का विष्णुप्रसाद थपलिया, शान्ति नेपालका कार्यक्रम अधिकृत दुर्गानारायण श्रेष्ठ, एक्सन नेपालका कार्यक्रम संयोजक दिनेश दुवाडी रहेका थिए । त्यसै गरी स्रोत ब्यक्तिहरुमा नेपाली काँग्रेस गाउँ कार्य समिती ढोलाका सभापति कृष्णलाल श्रेष्ठ, नेकपा एमाले गाउँ कमिटी ढोलाका सुजन सिम्खडा, नेकपा माओवादी केन्द्र गाउँ संगठन समिति ढोलाका सुब्बा रम्तेल र राप्रपा गाउँ  समितिका सरणविक्रम शाह रहेका  थिए । कार्यक्रममा ६ वटा सार्वजनिक प्रतिवद्धता व्यक्त गरिएको थियो । जसमा गाविसले आगामी दिनमा संचालन गर्ने सार्वजनिक सुनुवाइ यसै अनुरुप गर्ने, गाविसमा कार्यरत गैह्र सरकारी संघसंस्थाले संचालन गर्ने परियोजना तथा कार्यक्रमहरु आगामि गाउँ परिषद्बाट स्वीकृत तथा अनुमोदन गर्ने र गराउने, नागरिक वडा पत्र राख्ने, सार्वजनिक सुनुवाइमा आमन्त्रित संघसंस्थाका जिम्मेवार व्यक्तिको उपस्थिति हुनु पर्ने, उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गर्ने र गाविस परिषद्ले छुट्टाएको लक्षित वर्गको रकम लक्षित कार्यक्रम बनाइ सोहि अनुरुप व्यबहारमा नै खर्च गर्ने रहेको थियो । उक्त प्रतिवद्धतामा जवाफदेहि बक्ता तथा स्रोत व्यक्तिले हस्ताक्षर गरेका थिए । सार्वजनिक सुनुवाईको सहजिकरण गोगो फाउण्डेसनका प्रमुख प्रशिक्षक तिलक कार्कीले गरेका थिए ।