अनलाइन / पत्रपत्रिकाबाट

देशभर साढे ६ अर्बका पाँच हजार खानेपानी आयोजना

By धादिङ न्यूज

January 30, 2017

काठमाडौँ: खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पुर्‍याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ ।

विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पुर्‍याउने उद्देश्यका साथ पाँच हजार १८७ आयोजना सञ्चालन गर्न लागेको जानकारी दिए ।

“८० प्रतिशत सरकारको सहयोग र २० प्रतिशत जनश्रमदानमा उक्त आयोजना सञ्चालन गर्न लागेका छौँ”, उनले भने ।

विभागले गत आर्थिक वर्षमा दुई हजार ९१६ आयोजनामात्र सञ्चालन गरेकोमा यस वर्ष बढाएको हो ।

सञ्चालन गर्न लागेका आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौँ १५२, स्याङ्जा १४८, गुल्मी १२९ रहेका छन् भने सबैभन्दा थोरै आयोजना मनाङमा १३ वटा रहेका छन् ।

यी आयोजना सञ्चालनका लागि सरकारले छ अर्ब ४१ करोड ८० लाख छुट्याएको कारोवार डेलीमा खबर छ ।