कभर फोटो

धादिङका ग्रामीण सडकमा दुर्घटना बढ्दै,पांच महिनामा २४ को ज्यान गयो

By धादिङ न्यूज

February 01, 2017

(केही महिना अघि पृथ्वीराजमार्गको गल्छी चोकमा दुर्घटनामा परेको बसको फाईल तस्बिर ) तस्बिर : कुशल अधिकारी

धादिङ ,१९ माघ – देशका ६७ जिल्लालाई राजधानी संग जोड्ने मुख्य दुईवटा राजमार्ग रहेको धादिङ जिल्लामा हरेक दिन जसो दुर्घटना हुने गर्दछ । पछिल्लो समय राजमार्ग क्षेत्रमा दुर्घटनामा कमि आएपनि  जिल्लाको ग्रामीण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । पांच महिना यता जिल्लाको ग्रामीण भेगको विभिन्न स्थानमा भएका बस दुर्घटनामा परि २४ जनाको ज्यान गएको छ । मंगलबार सदरमुकाम धादिङबेसीबाट ज्यामरुङ गाविसको चामभञ्ज्याङ जाँदैगरेको बसबाट ओर्लनेक्रममा एक जनाको ज्यान गएको छ ।सदरमुकाम धादिङबेसीबाट चामभन्ज्याङका लागि छुटेको बा ३ ख २९०० नम्बरको धादिङ यातायातको बसमा यात्रा गरेका ज्यामरुङका कुमार लामिछाने बसबाट ओर्लने क्रममा सोही बसले किचेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ज्यामरुङ गाविस वडा नम्बर ३ का २५ बर्षका लामिछाने सोहि बसमा सदरमुकामबाट मंगलबार घर गएका थिए, उनी ओर्लने क्रममा ढोकाबाट खस्दा बसको पछाडीको टायरले किचेर घाईते भई उनको ज्यान गएको हो । धादिङको ग्रामीण भेगमा सञ्चालन हुने बसबाट पाँच महिनाको अवधिमा दुर्घटनामा परि २४ जनाको ज्यान गएको छ । दुई साता अघि धादिङबेसीबाट खाल्टे गाविस तर्फ जांदै गरेको बस पल्टिंदा २ जनाको ज्यान गएको थियो भने २९ जना घाईते भएका थिए । एक साता अघि जिल्लाकै मैदीमा पनि बस चढ्नेक्रममा एक महिलाको ज्यान गएको थियो । ग्रामीण भेगका सडकमा दुर्घटनाको जोखिम बढ्दै गएपनि न्युनिकरण गर्ने तर्फ सम्वन्धित निकायले खासै चासो नदिएको सर्वसाधरणको गुनासो छ । गएको असोज ११ गते धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेर भएको दुर्घटनामा २० जनाको ज्यान गएको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको ५० हजार रकम लिएर घर फर्कँदै गरेका धेरै थिए । दुर्घटनामा दुई बालकसहित १४ पुरुष र छ महिलाको मृत्यु भएको थियो ।