ब्रेकिङ समाचार

को बन्ला नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष ?

By धादिङ न्यूज

February 26, 2017

नेपाल पत्रकार महासंघ धादिङ शाखाको आठौं अधिवेशन फागुन १७ गते धादिङबेसीमा हुंदैछ । अबिधेशनले आगामी ३ बर्षका लागि नयाँ नेत्तृत्व चयन गर्ने भएकाले यति बेला महासंघको नेत्तृत्व कस्ले गर्ला भन्ने अडकल वाजी र चासो बढ्दै गएको छ । नेपाल पत्रकार महासंघको २०७३ पुस २६ गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार धादिङ शाखाको आठौं अबिधेशन हुन लागेको हो । स्थापना काल देखि अहले सम्म सर्वसम्मतबाट नेतृत्व चयन हुंदै आएको नेपाल पत्रकार महासंघ धादिङ शाखामा यस पटक पनि सर्वसम्मतबाट नेत्तृत्व चयन हुने धेरैको अनुमान छ । जिल्ला शाखाको अध्यक्षको आकांक्षीका रुपमा अहिले सम्म नवराज छत्कुली,पोषनाथ अधिकारी, रमेश आचार्य र शिव सिल्वालको नाम चर्चामा आएको छ । छत्कुली महासंघको वर्तमान कार्य समितिका अध्यक्ष हुन भने, अधिकारी प्रेस युनियन धादिङका अध्यक्ष र आचार्य प्रेस सेन्टरका ३ नम्बर प्रदेश सह-सचिव हुन । सिलवाल भने कुनै पनि संगठनमा आवद्ध छैनन । महासंघको विधान २०६० ( चौथो संशोधन –२०७३) को परिच्छेद १० दफा ३८(१) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको शाखा निर्वाचन (कार्यविधि) निर्देशिका–२०६४ ( तेश्रो संशोधन २०७३) अनुसार शाखा अध्यक्ष हुन निरन्तर ७ बर्ष र सभासद हुन ४ बर्ष महासंघको सदस्य हुनुपर्ने व्यवस्था गरेको छ । पत्रकार महासंघ धादिङमा १ सय ९४ जना सदस्य रहेका छन ।

अध्यक्षका आकाक्षीहरुको प्रचार प्रसारमा पेशागत पत्रकार संगठन एमाले निकटको प्रेस चौतारी, नेपाली कांग्रेस निकटको प्रेस युनियन, माओवादी केन्द्र निकटको प्रेस सेन्टर औपचारिक रुपमा सक्रिय भएका छन भने नयाँ शक्ति निकटको प्रेस सोसाइटीले भने अहिले सम्म उम्मेदवारीको घोषणा र प्रचार प्रसार गरेको छैन । अध्यक्ष पदमा आकांक्षी देखिएका मध्ये नवराज छत्कुली महासंघको वर्तमान कार्य समितिका अध्यक्ष समेत हुन । प्रेस चौतारीको कार्य समितिले पत्रकार महासंघका वर्तमान अध्यक्ष छत्कुलीलाई महासंघको नेतृत्वका लागि अघि सारेको छ । छत्कुलीलाई अध्यक्ष बनाउन चौतारीले प्रेस बिज्ञप्ति जारी गरी आग्रह गरेको छ । छत्कुली रेडियो नेपाल र इमेज टेलिभिजनका धादिङका समाचारदाता हुन । छत्कुली २०५७ साल देखि पत्रकारितामा सक्रिय रहँदै आएका छन । अध्यक्ष पदका आकांक्षी छत्कुलीले धादिङ न्यूज संग कुराकानी गर्दै पत्रकार महासंघको जिल्ला शाखालाई अझै सुविधा सम्पन्न र व्यवस्थित गर्न, व्यवसायिक पत्रकारिताको विकासका कार्यक्रमहरु लागु गर्न,आम श्रमजिवी पत्रकारहरुको हक हितका मुद्धालाई शशक्त वनाउन, पत्रकार विमा कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गर्न,पत्रकार कल्याण कोष स्थापना गरी आपत विपतमा परेका पत्रकारहरुलाई तत्काल सहयोग गर्ने वाताबरण तयार पार्न, विधागत पत्रकारिता पुरस्कार कोष स्थापना गर्दै योग्य पत्रकारलाई पुरस्कृत गर्न र मिडियाहरुको दिगोपनामा सहयोग पु¥याउने कार्यक्रमहरु कार्यान्वयन गर्न आंफुले पुन ःएक पटक महासंघ जिल्ला शाखाको नेत्तृत्वगर्न चाहेको र अवको तीन बर्षमा सबै संग सहकार्य गरेर यि कामहरु गरिने प्रतिबद्धता जनाएका छन ।

माओवादी केन्द्र निकट रहेको प्रेस सेन्टरले रमेशप्रसाद आचार्यलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । आचार्य एबिसी टेलिभिजनका धादिङ सम्वाददाता हुन । महासंघमा एउटै व्यक्ति मात्रै बर्षौ सम्म स्थापित भईरहने संधै भरी एउटै संगठन मात्रै नेत्तृत्वमा हावी हुने प्रवृति रोक्न पनि आंफुले अध्यक्ष पदमा दावी गरेको आचार्यले वताएका छन । अध्यक्ष पदमा विजयी भएमा गैर पत्रकारहरुलाई विदाई र क्रियाशिल पत्रकारलाई संगठनमा प्रवेश गराउँदै वास्तविक पत्रकारहरुको संगठनको रुपमा महासंघलाई चिनाउने र महासंघको जिल्ला शाखाको भौतिक पुर्वाधारलाई व्यवस्थित र बृद्धि गर्दै लैजाने वताएका छन ।आचार्य महासंघका पुर्व केन्द्रिय पार्षद हुन ।

प्रेस युनियन धादिङले संगठनका अध्यक्ष पोषनाथ अधिकारीलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । २०५७ साल देखि पत्रकारितामा सक्रिय रहंदै आएका पोषनाथ अधिकारी हाल कान्तिपुर टेलिभिजनका धादिङ समाचारदाता हुन । व्यवसायिक पत्रकारिताको विकास,श्रमजिवी पत्रकारहरुको हक हित र पेशागत मर्यादालाई जोगाउँदै अघि बढ्नका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको अधिकारीले प्रतिकृया दिएका छन ।अधिकारी महासंघका पुर्व केन्द्रिय पार्षद समेत हुन ।

यसै गरी नेपाल टेलिभिजनका धादिङ समाचारदाता शिव सिलवालले पनि आंफु अध्यक्ष पदको आकांक्षी भएको जानकारी दिंदै सामाजिक सञ्जालबाट सहयोगका लागि आग्रह गरेका छन । सिलवालले आंफु कुनै दल निकटको पत्रकार संगठनमा नरहेको र महासंघको नेत्तृत्व कुनै दलको सिफारिशमा होइन पेशामा सक्रिय स्वतन्त्र पत्रकारहरुले गर्नु पर्छ भन्ने मान्यतालाई स्थापित गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको वताएका छन ।