केशव अधिकारी धादिङ,२२ चैत : हिउंद होस या बर्षा पृथ्वीराजमार्गको किनारमा रहेको त्रिशूली नदीको रंग धमिलोनै हुने गर्दछ । डेढ दशक अघि सम्म कन्चन देखिने गरेको त्रिशूली नदीमा अहिले हिलो पानी मात्रै वग्ने गरेको छ । धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व वोकेको त्रिशूली नदीमा बढ्दै गएको अतिक्रमण र प्रदुषण नियन्त्रणका लागि नागरिक स्तरबाट थालिएका प्रयासहरु शशक्त हुन नसक्नु र सरकारी निकाय मौन रहिदिंदा त्रिशूलीको रंग पनि दिनप्रतिदिन धमिलो हुंदै गएको हो । नदीको छेउ छाउमा खोलिएका बालुवा प्रशोधन उद्योगका सञ्चालकहरुले त्रिशूली नदीको बहावनै परिवर्तन गरेर जथाभाबी बालुवा उत्खनन गरिरहेका छन । जिल्ला विकास समिति धादिङ, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र खानी विभागको अनुमति लिएर नदीजन्य पदार्थ उत्खनन गरिरहेको व्यवसायीहरुको भनाई छ । नदीमा बाँध बाँधेर बहाव नै परिवर्तन गरि तथा नदी किनारमा बालुवा धुने मेशिन जडान गरी बालुवा निकाल्ने र धुने कार्य हुंंदै आईरहेको छ । त्रिशूली नदी आसपासमा नुवाकोटको सदरमुकाम देखि कोल्पुटार सम्म र धादिङको निबुवाबोटे, जिन्सेटार,महेशदोभान,चिरौंदी,मास्टार,बेल्खु,जरेवगर,पोखरेखोला,घाटवेसी,गलौंदी,गजुरी,मलेखु,गौमती लगायतका स्थानमा एक सय भन्दा बढी वालुवा पखाल्ने मेशिन सञ्चालनमा ल्याईएको छ । बालुवा उद्योग तथा ठेकेदारलाई नदीबाट बालुवा–ढुंगा झिक्न अनुमति नदिएको जिल्ला समन्वय समितिका अधिकारीहरु बताउँछन । खानी विभाग र घरेलु कार्यालयमा वालुवा धुने उद्योगको दर्ता गरेर आएका फर्महरुले यस्ता काम गरिरहेको कार्यालयका कर्मचारी बताउँछन ।
मापदण्डअनुसार खोलाभित्र स्काभेटर तथा अन्य उत्खननमा प्रयोग हुने मेशिन लग्न र बहाब थुन्न पाइँदैन । तर स्थानीय व्यवसायीहरु नियम कुल्चदै विभिन्न बहाना पारेर अवैध रुपमा नदीबाट बालुवा –ढुंगा झिक्ने गरेको त्रिशूली बचाउ सञ्जालका संयोजक उत्तम कंडेल बताउँछन । नदीमा बढ्दै गएको प्रदुषण र वालुवा उत्खनन हुंदा देखिएको जोखिम न्यूनिकरणका लागि सरकारी निकायले अहिले सम्म कुनै चासो नदेखाएको कंडेलको गुनासो छ । वालुवा व्यवसायीहरुको जथाभाबी नदी उत्खनन रोक्न खोजेमा प्रहरीलाई तत्काल राजनीतिक दलका नेताबाट दबाब आउने गरेको छ । दबाब र प्रभावमा स्थानीय प्रशासनले त्रिशूलीमा प्रदुषण फैलाउनेहरुलाई कारवाही गर्नुको साटो सरक्षण द्रिदै आएको त्रिशूली बचाउ महा अभियानका रमेश कंडेलको आरोप छ । गल्छीदेखि देवीघाट सम्म होस या महेशदोभान देखि मलेखु सम्म पुग्दा होस त्रिशूली नदीमा स्काभेटरले निकालिएका बालुवा–गिट्टी र ढुंगाका ठुला ठुला रास देखिन्छ । स्थानीयले वालुवा उद्योगीको मनोमानीबारे विरोध गरे पनि दुवै जिल्लाका प्रशासन मौन छ । ‘हामीले त उद्योगीका मनोमानी बारेमा चुइक्क बोल्यो कि बेलुकाको बास खोज्न अन्तै जानुपर्छ,’ एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘प्रशासनले नसुनेपछि क्रसर डनको मनोमानी सहनु र चुप लागेर बस्नुको विकल्प छैन ।’ जिल्लाका क्रसर उद्योगमा नेपाली कांग्रेस, एमाले र एमाओवादी नेता कार्यकर्ताको संलग्नता छ । त्यसैले दलका नेताकार्यकर्ता क्रसर । वालुवा उद्योगका विषयमा केही बोल्न चाहदैनन । जथाभावि उत्खनन हुंदा नदी कतै दबिने र कतै उठ्ने त भएकै छ, आसपासका बासिन्दा पनि प्रभावित छन । ध्वनि प्रदुषण र धुलोले सडक छेउ टाउमा बस्नै सकस छ । सरकारको निर्णय अनुसार चुरे क्षेत्रको १ किलोमिटरभित्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न पाइँदैन । खोला किनारा तथा राजमार्गबाट ५ सय मिटर, पक्की पुलबाट ५ सय मिटर र हाइटेन्सन लाइनबाट सय मिटर तथा अन्र्तराष्ट्रिय विमानस्थलबाट एक किलोमिटर बाहिरमात्र उद्योग सञ्चालन गर्न पाउने व्यवस्था मापदण्डमा छ । शिक्षण संस्था, धार्मिक, सांस्कृतिक, स्वास्थ्य संस्था, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, राष्ट्रिय वन, घना बस्तीको ५ सय मिटरभित्र पनि उत्खनन उद्योग सञ्चालन गर्न पाइँदैन । त्यस्तै तालतलैया, पोखरी र जलाशयको दुई सय मिटर क्षेत्रमा पनि उत्खनन प्रतिबन्ध लगाइएको छ । प्रारम्भिक वातावरणीय परीक्षण मापदण्डअनुरूप नदी फोहोर नहुनेगरी किनारामा मानिसको सहायताले ३० सेन्टीमिटरसम्म गहिरो खनेर बालुबा, गिट्टी र ढुंगा झिक्न पाइन्छ । धादिङका व्यवसायीहरुले सरकारी नियम र निर्देशनको पठक पटक अवज्ञा गर्दै जताततै समस्या ल्याईदिने काम गर्दै आएका छन । नदी छेउमा राखिएका वालुवा धुने उद्योगले फ्याँकेको फोहोर पानी सिधै त्रिशूली नदीमा मिसाईदिंदा नदीको अस्तित्वनै संकटमा पर्दै गएको छ । जलयात्राका लागि निकै उत्कृष्ठ गन्तव्य मानिएको त्रिशूली नदीमा अहिले मानिसहरु जलयात्रा र परै जावोस पानी छुन समेत घिनाउने गरेको जलपर्यटन व्यवसयी मेघ आले वताउँछन ।