कभर फोटो

खेती योग्य जमिन मासेर धुंवामय वन्दै धुनिवेसी

By धादिङ न्यूज

April 23, 2017

राजाराम डंगोल धुनिवेसी -कुनै वेला उखु खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुनिवेसी क्षेत्र एक दशक यता तरकारी खेतीका लागि प्रख्यात हुंदै आएकोमा अव त्यो परिचय पनि वदलिने भएको छ । नयाँ सरंचना अनुसार साविकको छत्रेदेउराली, जिवनपुर र नौविसे गाविसलाई समेटेर धुनिवेसी नगरपालिकाको नाम प्रस्ताव गर्दा यहाँका स्थानीयले व्यंग्य गर्दै धुवांवेसी नाम राख्नु पर्ने वताएका थिए । हरियाली फांटले भरिभराउ देखिने गरेको धुनिवेसी क्षेत्र केही बर्ष यता धुंवाको मुस्लोले छोपिने गरेको छ । राजधानी काठमाण्डौंको लागि करेसावारी भनेर चिनिएको धादिङको धुनिवेसी क्षेत्र केही बर्ष यता धुवाँमय वन्दै गएको छ । तरकारी र फलफुल उत्पादनमा निकै अगाडी रहेको धुनिवेसी क्षेत्रमा अहिले जताततै खुलेका ईट्टा भट्टा र अन्य उद्योग कलकारखानालेले खेतीयोग्य जमिन मास्नुका साथै जनस्वास्थ्य र वाताबरणमा समेत नराम्रो असर पार्दै गएको छ । राजधानी काठ्माण्डौलाई मुख्य बजार बनाएर उद्योग खोल्ने होडबाजीले गर्दा राम्रो तरकारी उत्पादन हुने धादिङ धुनिबेसीको फाँटहरुमा हिजोआज ईट्टा उत्पादनमा प्रतिस्पर्धा हुन थालेको छ । काठमाडौं नजिकै भएका कारण उत्पादित इट्टा राजधानी काठ्माण्डौ पु¥याउन सहज भएपछि इट्टाभट्टा खोल्ने होडबाजी नै चलेको हो । इट्टाभट्टा ले कृषि उत्पादनदेखि वातावरणमा पनि नकारात्मक असर पुर्याईरहेको साविकको थाक्रे गाउँपालिकाका कर्मचारी उत्तम अधिकारी बताउनु हुनुहुन्छ ।

इट्टाभट्टाकै कारण तरकारी खेती गरेर गुजारा चलाइ रहेकाहरुलाई विस्थापित हुन थालेका छन भने कतिपय किसान आफैं ईट्टा उद्योग संचालनमा लागेका छन् । व्यवसायिक इट्टा उद्योगीहरु भने भुकम्पले तहस नहस बनाएको संरचना पुननिर्माणका लागि पनि ईंट्टा उद्योगको माग भएको .धादिङको जिवनपुरमा इट्टा उद्योग संचालन गरिरहेका मनकामना इटा उद्योगका संचालक रामबाबु रेग्मी भन्नुहुन्छ । धादिङ जिल्लाकै अगुवा किसान भनेर चिनिनुका साथै राष्ट्रपति बाट उत्कृष्ठ किसान पुरस्कार समेत पाएका जीवनपुरका कृषक कृष्ण कुमार रेग्मीको अहिले तरकारी खेती भन्दा ईटा उद्योग संचालन बढी समय वित्ने गरेको छ । कतिपय किसानहरु तरकारी उत्पादनबाट भन्दा बढी जग्गाको भाडा लिने गरी तरकारी उत्पादन छोडेर जग्गा भाडामा दिन रुचाइरहेका छन् । उत्पादित तरकारीले उचित मुल्य नपाउने गरेको, विचौलियाहरुबाट किसान ठगिनेक्रम बढेको, मुल्य अस्थिर हुंदा किसानको लागनी वालुवामा पानी हुने गरेको किसानहरुको गुनासो छ । उद्योग संचालनबाट खेती योग्य भुमिको नोक्सानी तथा त्यसबाट वातावरणमा पर्ने नकारात्मक असरका वारेमा चौतर्फि आवाज उठिरहेको भएपनि पछिल्लो समय धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा एक सय भन्दा बढी इट्टाभट्टा संचालनमा आइसकेका छन ।