कभर फोटो

भुत्याहा बेल्खु जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा भांचियो

By Dhading News

April 23, 2017

गल्छी गाउंपालिकाको दुईवटा वडालाई जोड्ने गरी निर्माण हुंदै गरेको त्रिशूली नदी माथिको झोलुङगे पुल भाँचिएको छ । गल्छी गाउँ पालिका वडा नम्बर २ मा पर्ने साविकको कल्लेरी गाविसको भुत्याहा र हालको वडा नम्बर ४ बैरेनी गाविसको बेल्खु जोड्ने गरी निर्माण भईरहेको पुलको २५ मिटर अग्लो टावर आईतबार दिउंसो भाँचिएको हो । निर्माणाधिन अवस्थामा रहेको उक्त पुलको लठ्ठा अडकाउने टावर भत्किंदा ३ जना घाईते भएका छन । घाईते मध्ये एक जनाको अवस्था गम्भिर र दुई जनाको अवस्था सामान्य रहेको छ । झोलुङ्गे पुल नहुंदा भुत्याहा बेलिनिटार क्षेत्रका वासिन्दाले भोग्नु परेको सास्तीलाई कम गर्न हेल्भेटासको सहयोगमा केही समय अघि देखि त्रिशूली नदी माथि झोलुङ्गे पुलको निर्माण कार्य शुरु गरिएको थियो ।

बैरेनीको बेल्खु र कल्लेरीको भुत्याहा जोड्ने त्रिशुली नदिमाथि बन्ने सस्पेन्सन पुलको लठ्ठा अड्याउने टावर जोडि नसक्दै भाँचिएको हो । पुलको २५ मिटर अग्लो टावर भाँचिँदा टावरमै काम गरिरहेका ३ जना मजदुर घाइते भएका छन् । घाइते तीनै जनालाई बैरेनीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

 तुईनलाई झोलुङ्गे पुलमा प्रतिस्थापन गर्ने नेपाल सरकारको कार्यक्रम अन्तर्गत एक सय ५८ दशमलत २० मिटर लामो बेल्खु भुत्याहा पुलको गौरी पार्वती/निलगिरी जेवी कम्पनीले निर्माण सुरु गरेको हो । पुलको जग नै कमजोर भएका कारण समस्या आएको सव इन्जिनियर दुर्याेधन रेग्मीले बताए । सस्पेन्सन पुल अन्य भन्दा कमजोर नै हुन्छ । उनले भने ‘यसरी बनेका ५० प्रतिशत पुल ढल्ले गरेको छ ।’

   

सम्झौता अनुसार आगामी साउन २८ गतेसम्म निर्माण सक्नुपर्ने भएपनि भर्खर टावर ठड्याउने काम हुँदैथियो । निर्माण सुरु भएदेखि पुल तर्ने दिन कुरेर बसेका स्थानीयमा निराशा टावर नै भाँचिएपछि निरास बनेका छन् ।यहाँ पुल नहुंदा तुईनबाट कष्टकर ढंगले नदी वार पार गर्नु पर्ने वाध्यता स्थानीयमा छ ।