हाम्रो पालिका

पृथ्वीलोकमार्गको मलेखुमा प्रहरी पोष्ट

By Dhadingnews.com

June 27, 2013

मलेखु (धादिङ्न्युज)।  लोकमार्ग क्षेत्रका साथै व्यापारिक केन्द्र मलेखुको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको मलेखुमा अस्थायी प्रहरी विट स्थापना गरी संचालनमा ल्याएको छ ।

धादिङको गजुरी गाविस वडा नम्बर २ मलेखुमा रहेको विटको बिहीवार प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र प्रहरी नायव उपरिक्षक अशोक सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन । केही समयदेखि मलेखु क्षेत्रमा लुटपाट तथा चोरी डकैतिका घटनाहरु बढेको जनगुनासो आएपछि जनतामा शान्ति सुरक्षा कायम गराउन अस्थायी प्रहरी पोष्ट संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी खरेलले बताए । मलेखु क्षेत्रका व्यवसायीहरु र स्थानीयबासीको पटक पटकको पहल पछि प्रहरी पोष्ट संचालनमा ल्याइएको वताईएको छ ।  प्रहरी पोष्ट स्थापनाले लोकमार्गमा हुने सवारी दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने प्रहरीले जनाएको छ । मलेखु अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षक अमिर शाहको नेतृत्वमा सात जनाको टोली खटाइएको छ । मलेखु हुँदै देशको आधा भन्दा धेरै जिल्लाका मानिसहरु आवत जावत गर्ने बाटो भएकोले लोकमार्ग क्षेत्रको सुरक्षाको लागि आफुहरुपनि प्रतिवद्ध रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् । स्थानीय भद्रकाली सामुदायिक विकास समाजका अध्यक्ष एकराज पाण्डेको अध्यक्षतामा भएको प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी, एकिकृत नेकपा माओवादीका सहइन्चार्ज रामबहादुर भण्डारी, नेकपा एकिकृतका शिवनिधि खनाल, मालेका तिर्थ सिलवाल, सशस्त्र प्रहरी वेशक्याम्प आदमघाटका प्रहरी नायव उपरिक्षक सन्तोष शाह लगायतको उपस्थिति रहेको थियो ।