कभर फोटो

गल्छी गाउँ पालिकाको पहिलो निर्णय : तीनबर्षमा सबै घरमा खानेपानी र शौचालय

By धादिङ न्यूज

May 21, 2017

केशव अधिकारी

धादिङ,७ जेठ : स्थानीय तहको निर्वाचनबाट निर्वाचित गल्छी गाउँ पालिकाका पदाधिकारीहरुले आईतबार सामूहिक पदभार ग्रहण गरेका छन । अध्यक्ष, उपाध्यक्ष, ८ वटै वडाका अध्यक्ष र सम्पूर्ण सदस्यहरुले सामुहिक पदभार ग्रहण गर्दै पहिलो बैठक बसेर आगामी ३ बर्ष भित्र गाउँ पालिकाको सबै घरमा खानेपानी र शौचालयको व्यवस्था गर्र्ने निर्णय गरेका छन् । आईतबार पदभार ग्रहण गरे लगत्तै गाउँपालिका प्रमुख कृष्णहरी श्रेष्ठको अध्यक्षतामा बसेको पूर्ण बैठकले २०७२ बैशाखको भुकम्पको कारण गल्छी गाउँ पालिकाको अधिकांश वस्तिमा खानेपानीको संकट बढ्न गई जनजिवन निकै कष्टकर बनेकाले सबै घरमा खानेपानी र शौचालयको व्यवस्था गर्ने पहिलो निर्णय गरेको हो । साविकको बैरेनी र कल्लेरी गाविसको सबैवडा र गोगनपानी गाविसको १,२,३,४ र ९ नम्बर वडा समेटेर वनाईएको गल्छी गाउँ पालिकाको कुल क्षेत्रफल १२९.०८ वर्ग किमि रहेको छ भने कुल जनसंख्या २७७८४ रहेको छ । यस गाउँ पालिकाको केन्द्र साविकको बैरेनी गाविसको कार्यालयलाई तोकिएको छ । २०७२ बैशाखको भुकम्पले यस गाउँ पालिकाको सबै गाउँ बस्तिमा ठूलो क्षती पु¥याउनुका साथै अधिकांश खानेपानीको मुहान सुकेपछि गाउँवासीमा खानेपानीको संकट बढेको छ । खानेपानीको संकट बढ्दा शौचालय र सरसफाईमा समेत असर परेकाले तीन बर्ष भित्रमा सबै घरमा खानेपानी र शौचालयको व्यवस्था गरि मानिसको स्वास्थ्य र वाताबरणिय सरसफाईमा नमूना वनाउने लक्ष्य राखिएको प्रमुख श्रेष्ठले वताउनु भएको छ । गाउँपालिकाले अघि सारेको घर घरमा खानेपानी तथा शौचालय र सरसफाईको कार्यक्रमलाईसंचालन गर्न सरकारी गैरसरकारी, अन्र्तराष्ट्रिय दातृ निकाय तथा अन्य सरोकारवाला निकायसंग सहयोगका लागि आग्रह गर्ने निर्णय समेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बास्तविक भुकम्प पिडितलाई तत्काल राहत उपलब्ध गराउन पनि गाउँ पालिकाले सरकारसंग आग्रह गरेको छ । लामो समय सम्म जनप्रतिनिधि विहिन अवस्थामा रहेको स्थानीय निकायले भर्खरै मात्रै जनप्रतिनिधि पाएकाले आम नागरिकको भावना बुझेर जनताको वास्तविक पिडा र समाजको समृद्धिका लागि नगरि नहुने काममा कसैलाई कुनै पक्षपात नगरि जनताको भावनाको कदर गरिने उप प्रमुख राधा तिमिल्सिनाले वताउनु भयो । दुई दशकपछि भएको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएसंगै पदभार ग्रहण गरेका हुन । गल्छी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले निर्वाचन आयोगले तयार गरेको कानूनी व्यवस्था अनुसार शुक्रवार सपथ लिएका हन ।

प्रमुख निर्वाचन अधिकृत रामजी दनाइले शुक्रबार अध्यक्षमा निर्वाचित नेकपा एमालेका कृष्णहरी श्रेष्ठ र एमालेकै राधा तिमिल्सिना लगायत ८ वटै वडाका निर्वाचित प्रतिनिधीहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा धादिङ क्षेत्र नमबर ३ का सांसद राजेन्द्र पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली ०७३ संशोधन गरी शपथग्रहणको व्यवस्था गरेकोले सोही अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुलाई कानुनी व्यवस्था अनुसार नै सपथ ग्रहण गराइएको निर्वाचन अधिकृत दनाईले जानकारी दिनुभयो । पहिलो वैठक भएकाले अवका दिनमा बस्ने बैठकबाट गाउँ पालिकामा नयाँ निति तथा योजना तर्जुमा गरी त्यसलाई कार्यान्वयन गरेर नमूना गाउँ पालिकाका रुपमा विकास गर्ने कार्यक्रमहरु ल्याईने गाउँ पालिकाका कार्यकारी अधिकृत दिपेन्द्र रेग्मीले वताउनु भयो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवारनै निर्वाचित सबै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र दिएको थियो । सपथग्रहण कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सांसद पाण्डे सम्पुर्ण अधिकारको कार्यान्वयन वडास्तर वाटै गर्ने स्थानीय निकायको कार्यविधी रहेकोले वडा तहमा निर्वाचित पदाधिकारीहरु पनि अब सशक्त हुनु पर्ने वताउन भएको थियो । संशोधित नियमावली अनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले निर्वाचन परिणाम प्राप्त भएको सामान्यतः तीन दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने छ । गाउँ कार्यपालिका वा नगर कार्यपालिकाका महिला र दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित सदस्यले निर्वाचनसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ ।

पदभार ग्रहण कार्यक्रमका केही झलक