कभर फोटो

देउवाले अवमूल्यन गरेको भन्दै नेता पौडेलले छाडे काँग्रेस

By धादिङ न्यूज

May 22, 2017

कांग्रेस पर्वत क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति गंगाधर पौडेलले पदबाट राजीनामा दिएका हुन् ।३१ जेठको स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका प्रमुखमा उम्मेदवारी दिन खोजेका पौडेलले टिकट नपाएपछि पार्टी छाडेका हुन् ।

नेपाली काँग्रेसले आइतबार कुश्मामा गरेको विजय सभामा पौडेलले राजीनामा घोषणा गरे । उनले लिखित रुपमा भने राजीनामा पत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्नुन जोशी र पर्वतका सभापति खिमप्रसाद भुसालसमक्ष बुझाएका छन् ।

पौडेलले कुश्मा नगर प्रमुखमा आफूले उम्मेदवारी दिने सोचत बनाए पनि पार्टीले आफूभन्दा कनिष्ठलाई टिकट दिएकाले राजीनामा दिएको बताए ।

‘मैले ४० वर्षसम्म राजनीतिमा लागेर योगदान दिएँ’, उनले भने, ‘म मेयरमा उठ्ना खोज्दाखोज्दै मभन्दा कनिष्ठ र मेरो भाई नाता पर्नेलाई टिकट दिएकाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको छु ।’

पौडेलले पार्टीबाट अलग भएपछि स्वतन्त्र नागरिकको जीवन बिताउने घोषणा गरे । उनले पार्टीको जिल्ला कमिटी र केन्द्रले आफ्नो योगदानको अवमूल्यन गरेकाले अब उक्त पार्टीसँगको आबद्धता समाप्त भएको बताए ।

पौडेलले गत १८ वैशाखकै सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएको भए पनि चुनावी परिणाम प्रभावित हुन सक्ने सोचले चुनाव सकिएपछि सार्वजनिक गरेको उल्लेख गरे ।