मुख्य समाचार

३५२ स्थानीय तहमा तत्कालै बैंकको शाखा विस्तार नहुने,

By धादिङ न्यूज

June 18, 2017

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सडक, सुरक्षा, इन्टरनेट र बजार नभएसम्म बैंकहरुको शाखा विस्तार गर्न नसकिने बताएका हुन् । ‘सरकारी कार्यालय खोल्न जति सजिलो हुन्न बैंकको शाखा खोल्न, त्यहाँ सडक, सुरक्षा, इन्टरनेट र बजार हुनु अनिवार्य छ, त्यसकारण ग्रामिण क्षेत्रमा त्यतिकै जान सकिन्न’, पोखरामा आयोजीत ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने ।

उनले सरकारसँगको समन्वयमा पुर्वाधार विकास गरेर सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्ने पनि बताए । ७४४ वटा स्थानीय तहमध्ये ३९२ वटा स्थानीय तहमा मात्रै बाणिज्य बैंकका शाखाहरु स्थापना भएका छन् । बाँकी ३५२ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा छैनन् ।

स्थानीय तहको सञ्चित खाता बाणिज्य बैंकमा मात्रै खोल्न पाइने व्यवस्था छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले आगामी २ महिना भित्रै सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न नसकिए स्थानीय तहले आर्थिक गतिबिधी गर्न सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता आउने बताए ।