कभर फोटो

एलपी ग्याँस उद्योगको रोजाइमा धादिङका राजमार्ग ,सुरक्षा चुनौती बढ्दै

By धादिङ न्यूज

December 22, 2017

धादिङ, – राजधानी र देशका मुख्य ठूला सहरहरूको छेउमै रहेको धादिङ जिल्लाको राजमार्ग क्षेत्र ग्याँस उद्योगीहरूको रोजाइमा पर्न थालेको छ । उद्योगीहरूको रोजाइकै कारण पृथ्वी राजमार्गको सुरुआत धुनिवेसी नगरपालिकाको खानीखोला देखि वेनिघाट रोराङ गाउँपालिकाको मझिमटारसम्म १९ ओटा ग्याँस उद्योग अहिले स्थापना भई सञ्चालनमा रहेका छन् । अझै केही उद्योग स्थापनाको तयारिमा छन । राजमार्ग क्षेत्रमा ग्याँस उद्योगको स्थापना संगै सुरक्षाको चुनौती थपिएको छ । पछिल्लो पटक बिरगन्जमा भएको आगलागीको घटना पछि धादिङका ग्याँस उद्योगमा कार्यरत मजदुर र आसपासका वासिन्दा त्रसित हुन पुगेका छन । धादिङ जिल्लामा अहिले सम्म स्थापना भएका र सञ्चालनमा आउन तयारीमा रहेका सबै ग्याँस उद्योग बस्तीको बिचमा रहेको कारण पनि सर्वसाधरणमा त्रास फैलिएको हो ।

खाना पकाउन प्रयोग हुने एलपी ग्याँसको सिलिन्डर भर्ने उद्योगको करिडोरको रूपमा परिचित राजमार्ग क्षेत्रमा ग्याँस उद्योग भित्रिएको सात वर्ष मात्र भएको छ । सात वर्षको अवधिमा वर्षको दुईओटाका दरले उद्योग स्थापना भएका छन् । मझिमटारदेखि खानीखोलासम्म १३ ओटा ग्याँस उद्योग स्थापना भइसकेका छन् । उद्यमीहरूका अनुसार उद्योगको संख्या र ग्याँस भित्रिएको समय हेर्दा वर्षमा सरदर दुई उद्योगले प्लान्ट स्थापना गरेको पाइन्छ । देशभर ग्याँस उद्योगको संख्या ५२ पुग्दा धादिङमा २५ प्रतिशत रहेको छ । धादिङमा ग्याँस उद्योगको स्थापना २०६३ मा भुमेस्थान–९ खयरघारीमा ओम ग्याँसबाट सुरु भएको हो । नौबिसेमा तीन, थाक्रेमा दुई, भुमेस्थानमा दुई ,बैरेनीमा एक, गजुरीमा एक, बेनिघाटमा दुई, धुसामा एक र जोगिमारामा एउटा ग्याँस उद्योग स्थापना भएको छ । यी सबै उद्योगको लक्ष्य काठमाडौंको बजारलाई ग्याँस आपूर्ति गर्ने रहेको छ ।

ग्याँस व्यवसायी महासंघका पूर्वअध्यक्ष हरिप्रसाद पाठकका अनुसार धादिङमा रहेका अधिकांश उत्पादनको मुख्य बजार काठमाडौं नै हो । ८० प्रतिशत उत्पादन काठमाडौंमा खपत हुने भएकाले कुनै कारणवश उपभोक्ताकहाँ ग्याँस पुग्न ढिलाइ नहोस् भनेर राजधानीको नजिकका बस्तीलाई ग्याँस उद्योगको करिडोरका रूपमा रोजिएको हो । जिल्लाकै पुरानो ग्याँस प्लान्ट ओम ग्याँसको सञ्चालकसमेत रहेका पाठक नै धादिङमा व्यावसायिक रूपमा ग्याँस उद्योग भिœयाउने पहिलो उद्योगीसमेत हुन् । धादिङका सबै उद्योगहरूको मुख्य बजार काठमाडौं हो । सबैजसो सञ्चालक काठमाडौंमा ८० देखि ८५ प्रतिशत ग्याँस खपत हुने दाबी गर्छन् । काठमाडौंबाहेक सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र नुवाकोट सहायक बजार रहेको उनीहरूको भनाइ छ । सबैभन्दा धेरै स्टोरेज क्षमता भएको सातकिलास्थित श्री ग्याँसको बुलेट संख्या ६ ओटा छ । यसले ३ सय टन ग्याँस स्टोरेज गर्न सक्छ । १ लाख सिलिन्डर रहेको श्रीले ४३ रोपनी जग्गामा उद्योग स्थापना गरेको प्रबन्धक निलमप्रसाद पन्त बताउँछन् । प्रतिघन्टा १२ सय सिलिन्डर भर्न सक्ने उद्योगले दैनिक ३५ सय सिलिन्डर बजार पठाउँछ । सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कम्पनीको मेट्रो काठमाडौं ग्याँस थाक्रेको जुगेखोलामा स्थापना गरिएको छ । तीनओटा बुलेटमा १ सय ५० टन स्टोरेज गर्न सक्छ । एसटीसी ब्रान्डमा ७५ हजार सिलिन्डर रहेको उद्योगले दैनिक १ हजार सिलिन्डर काठमाडौं पठाउँछ । प्रतिमिनेट ६ ओटा सिलिन्डर भर्न सक्ने क्षमता भएको उद्योग अटोमेटिक प्लान्टबाट सञ्चालित छ । हिमालयन पेट्रो केमिकल्सले धार्केमा एचपी ग्याँस सिलिन्डर भर्छ । दुईओटा बुलेटमा १ सय टन स्टोर हुन्छ । दैकिन ११ सय सिलिन्डर काठमाडौं निर्यात गर्ने यो उद्योगमा खेतान ग्रुपको लगानी रहेको छ । धार्केमै रहेको सिद्धार्थ ग्याँसको दुईओटा बुलेटमा ७० टन स्टोरेज तथा १ हजार सिलिन्डर ग्याँस बजार पठाइने प्लान्ट इन्चार्ज रामप्रसाद चापागाईंले बताए । भूमेस्थानको श्रीराम ग्याँस २६ रोपनीमा फैलिएको छ । निजी क्षेत्रको कन्भेयर सिस्टमबाट अटोमेटिक ग्याँस भरिने इन्चार्ज मिलन कार्की बताउँछन् । डिजिटल काँटा जडान गरिएको श्रीरामले दैनिक साढे १६ सय सिलिन्डर काठमाडौं पठाउँदै आएको कार्कीले जानकारी दिए । १ लाख २२ हजार सिलिन्डर रहेको श्रीरामको स्टोरेज क्षमता भने १ सय टनको छ । २ सय टन स्टोरेज गर्न सक्ने ओम ग्याँसले साढे १३ सय सिलिन्डर काठमाडौं पठाउँछ । १ लाख सिलिन्डर रहेको यस उद्योगको ८५ प्रतिशत बजार काठमाडौं नै भएको सञ्चालक हरिप्रसाद पाठक बताउँछन् । बैरेनीको नमस्ते ग्याँसले दुई बुलेटमा सय टन स्टोर गर्छ । ४० हजार सिलिन्डर रहेको यस उद्योगको १२ सय सिलिन्डर दैनिक उत्पादन हुने बताइएको छ । काठमाडौंको सबैभन्दा नजिक रहेको सुगम ग्याँसको चार बुलेटमा २ सय टन स्टोरेज र ५० हजार सिलिन्डर मार्केटमा छ । ६ सय सिलिन्डर दैनिक बजारमा जाने यो उद्योग काठमामडौंबाट सबैभन्दा नजिकमा रहेको छ । गजुरीमा गीता ग्याँसको पनि दुईओटा बुलेटममा १ सय टन स्टोरेज हुन्छ । विशालटारमा रहेको क्याप्सन ग्याँस, श्रीकृष्ण ग्याँस र कृष्णभीरनजिकै तारा ग्याँस र मझिमटारमा रहेको त्रिवेणी ग्याँसले काठमाडौंलाई लक्षित गरेर उद्योग स्थापना गरेका हुन् । ग्याँस उद्योगहरूले धादिङलाई कार्यक्षेत्र बनाउँदा स्थानीयले रोजगारी पाएका छन् । प्रत्येक उद्योगमा कम्तीमा १५ जना स्थानीय कामदार छन् । सबै उद्योगमा गरी करिब २ सयजनाले रोजगारी पाएका छन् । सरकारले दिने यातायात सहुलियतलाई नाफा गर्न पनि धादिङ पहिलो रोजाइ बनेको छ । छोटो दूरीमा ढुवानी कम पर्छ, आयल निगमले दिने सहुलियत वीरगन्ज र धादिङलाई समान रहेको धादिङमा प्लानट इन्चार्जको रूपमा कार्यरत एक म्यानेजर बताउँछन् ।