कभर फोटो

डढेलोले आँपखोला गाउँमा खानेपानीको हाहाकार

By Dhading News

March 07, 2018

गल्छी, – जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ आँपखोला गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको अँधेरीखोला सामुदायिक वनमा फागुन २० गते देखि लागेको डढेलोले १ हजार मिटर पाइप जलेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो । डढेलोका कारण पाइप जलेपछि आँपखोलामा २० घरपरिवार खानेपानीबाट वञ्चित भएको स्थानीय रमेश अधिकारीले बताए । उनले भने, ‘जङ्गलमा लागेको डढेलोले गाउँमा विस्तार गरिएको खानेपानीको पाइप नष्ट बनाएको छ, गाउँ नजिकै खानेपानीको श्रोत नभएकाले स्थानीय महेशखोलाको धमिलो पानी ल्याएर खान बाध्य भएका छौँ ।’

अंधेरी खोला बनमा हरेक बर्ष जानीजानी डढेलो लगाउने गरेको स्थानीय बताउँछन् छन् । भुइँबाट घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण स्थानीय मध्ये कसैले अरुको आँखा छलेर डढेलो लगाउने गरेको गाउँलेहरु बताउँछन । तीन दिन देखि जारी डढेलोले बनमा ठूलो क्षति भएको छ । स्थानीयले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, रुखपात जलेर नष्ट भएको छ । डढेंलो निभाउन स्थानीयले प्रयास गरेपनि सफल हुन नसकेको वताएका छन । लापरवाहीका कारण गाउँमा खानेपानीको समस्या सिर्जना भएकाले यस्ता गलत काममा संलग्न हुनेलाई पहिचान गरी उचित दण्ड सजायँ दिन स्थानीय तहका जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने माग गाउँवासीको छ ।