एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए ।
आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने,‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’
पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।
सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे ।
एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिदै उपाध्यक्ष गौतमले भने,‘विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।’
उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गर्नुभयो । उपाध्यक्ष गौतमले भने,‘पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।’
उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए । ‘हामीले विचार, कार्यक्रमसहितको शक्तिशाली कम्युनिस्ट पार्टी भावी पुस्तालाई दिन लागेका छौँ । अब भावी पुस्ताले हामीलाई प्रश्न उठाउने ठाउँ समेत बाँकी रहने छैन’–उपाध्यक्ष गौतमले भने ।
वर्तमान सरकारले जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्दै एकाध वर्षमा मुलुकले ठूलो फड्को हान्ने स्पष्ट पारे । कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।