हाम्रो पालिका

‘हाइवे क्राईम कन्ट्रोल अपरेसन’ प्रभावकारी बनेको धादिङ प्रहरीको दावी

By Dhadingnews.com

July 09, 2013

केशव अधिकारी धादिङ/ धादिङ प्रहरीले राजमार्ग र सो आसपासका क्षेत्रको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’ उपलव्धि मुलक बनेको दावी गरेको छ । सोमवार इलाका प्रहरी कार्यालय गजुरीमा एक कार्यक्रमको आयोजना गरी ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’ को उपलव्धिहरुका वारेमा जानकारी गराएको हो । जिल्लामा पर्ने राजमार्ग र सो आसपासका क्षेत्रलाई  आधार वनाएर असार १४ गते देखि शुरु गरिएको फ्लश आउट नाम दिईएको हाइवे क्राईम क्रन्टोल अपरेशन असार २३ गते सम्म संचालन गरिएको थियो । अपरेशनका क्रममा अवैध लागु औषध गांजा बिक्रि तथा सेवन गरेको आरोपमा बैरेनी र धार्केवाट चार किलो ४० ग्राम गांजा सहित सात जनालाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी राजमार्ग क्षेत्रका होटलमा खाना तथा खाजा खान रोकेको वसवाट यात्रुको ल्यापटप चोरी गरी भाग्दै गरेका धनकुटा जिल्ला पाख्रीवास –४ का गोपाल राई र रुकुम जिल्ला विजेश्वरी गाविस ३ का तेजवहादुर भण्डारीलाई  दुई थान ल्यापटप सहित पक्राउ गर्न प्रहरी सफल भएको छ । राईलाई यस अघि पनि धादिङ प्रहरीले ल्यापटप चोरीको आरोपमा पक्राउ गरेको र काठमाण्डौमा समेत विभिन्न स्थानवाट ल्यापटप चोरेको आरोप लागेपछि अनुसन्धानका लागि धादिङ प्रहरीले राईलाई काठमाण्डौ प्रहरीको जिम्मा लगाएको थियो । धादिङमा दुई दर्जन भन्दा बढी ल्यापटप चोरेको स्विकार गरेका राईलाई  काठमाण्डौ प्रहरीले छाडिदिएपछि  राई धादिङ फर्किएर पुरानो कामलाई निरन्तरता दिन थालेका थिए । राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध सेवन र ओसारपसार, लुटपाट, डाँका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान चलाईएकोले यस अवधिमा प्रहरीले यिनै बिषयलाई प्राथमिकता दिएको प्रहरी नायब उपरीक्षक अशोक सिंहले वताए । प्रहरी नायब उपरीक्षक अशोक सिंहका अनुसार अपरेसन अन्तर्गत राजमार्गका होटलमा खानतलासी गर्दा आपत्तिजनक अवस्थामा फेलापरेका ६ महिला र ५ पुरुषलाई नियन्त्रणमा लिई आवश्यक छानविन गरी अभिभावकको जिम्मा लगाईएको छ ।  त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने २३ जना, सवारीधनी कागजपत्र नबोक्ने ,सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने ६ सय ३६ सवारी साधनलाई कारवाही गर्दा एक लाख ८५ हजार आठ सय राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ । यसैगरी कागजपत्र नभएका ५ वटा मोटरसाइकल नियन्त्रणमा लिई चोरीको हुन सक्ने आधारमा अनुसन्धान भईरहेको पनि प्रहरी नायब उपरीक्षक सिंहले पत्रकारहरुलाई बताएका छन । राजमार्ग क्षेत्रमा लागू औषध ओसार पसार,विक्रि वितरण र संचय गर्ने,अवैध मादक पदार्थ विक्री बितरण कार्य हुने गरेको पाईएकाले अपरशेनका क्रममा दुई सय ८० वटा घर होटल,लज खानतलासी गर्दा केही नभेटिएपनि आगमाी लिनमा पनि यस्ता गलत कार्यहरु नगर्न नगराउन सम्वन्धीत पक्षलाई सचेत गराईएको प्रहरीले जनाएको छ । अपरेशनका क्रममा राजमार्ग क्षेत्रका विभिन्न स्थानवाट बरामद गरिएको दुई हजार दुई सय ४६ लिटर  अवैध घरेलु मदिरा सोमवार सार्वजनिक रुपमा नष्ट गरिएको छ । यसैगरी अपरेशन संचालन भईरहेको अवस्थामा धादिङको मैदी गाविस गाविस वडा नम्बर १ का क्रा लामा तामाङलाई अपहरण गरी ज्यान मार्ने प्रयासमा लागेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी अपहरण तथा ज्यान मार्ने उद्योगमा कारवाही चलाईएको प्रहरी नायब उपरीक्षक सिंहले वताए । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलका साथै राजमार्ग र जिल्लामा कार्यरत प्रहरी निरिक्षक तथा प्रहरी पोष्टका प्रमुखहरुको सहभागिता रहेको थियो ।