कभर फोटो

गल्छी गाउँपालिकामा १ दिनमै नक्सापास !

By धादिङ न्यूज

May 27, 2018

गल्छी गाउँपालिकाको कार्यालयले दिने गरेको सेवामध्ये नक्सापास प्रकृया गलत ढंगबाट हुने गरेको सेवाग्राहीहरुले वताएका छन । शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर २ केउरिनिटारमा आयोजित गल्छी गाउँपालिकाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको बिषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीहरुले यस्तो गुनासो गरेका हुन । गाउँपालिकाले घर वनाउँदा अनिवार्य नक्सापासको व्यवस्था गरेको भएपनि त्यो नक्सापासको काम १ दिनमै पुरा गरेर गाउँपालिकाले अनियमितता गरिरहेको सर्वसाधरणको गुनासो छ । घर बनाउँदा छरछिमेकीलाई असर पर्ने नपर्ने बारेमा कुनै सुनुवाई गर्ने मौका समेत नपाएको, चार किल्ला प्रमाणित,संधियारको मुचुल्का जस्ता काम कार्यालयको एउटा कोठामै बसेर गरिदिने गरेको प्रमाण सहित सार्वजनिक सुनुवाईमा जानकारी गराईएको थियो । सेवाग्राहीहरुले उठाएको गुनासोको बिषयमा जवाफ दिंदै गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले यस्ता गल्तीहरु हुन नदिन आंफुहरु प्रतिवद्ध रहेको र यस अघि भएका कमिकमजोरी को वाट भएको हो अनुसन्धान गरिने वताउनु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा कर्मचारी अनुपस्थित थिए भने गु्नासोहरुका वारेमा गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सना, वडा नम्बर १ का अध्यक्ष पूर्णप्रसाद खतिवडा, २ का अध्यक्ष षडानन्द खनाल र ३ का अध्यक्ष कपिल रेग्मीले जवाफ दिनु भएको थियो ।गल्छी गाउँपालिकाको आयोजना र इन्सेकको सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङले सहजीकरण गरेको थियो ।