राष्ट्रिय समाचार

वार्ताका लागि नेकपा माओवादीले टोली गठन गरेकोमा सरकारद्वारा स्वागत

By Dhadingnews.com

July 18, 2013

काठमाण्डु ।  मुख्य दलहरूसँगको वार्ताका लागि नेकपा माओवादीले वार्ता टोली बनाएकोमा सरकारले सकारात्मक रूपमालिँदै त्यसको स्वागत गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्तामा बस्न नेकपा माओवादीलगायतका असन्तुष्ट दलहरूलाई आह्वान गरेको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले पाँच वटै विकास क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय खोल्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारले आयोगको नयाँ सङ्गठन र संरचनालाई स्वीकृत गरेपछि धनकुटा, हेटौडा, पोखरा, सुर्खेत र दिपायलमा क्षेत्रीय कार्यालय स्थापना हुने पक्का भएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति गौरवशमशेर राणालाई भदौमा बेलायत भ्रमणका लागि स्वीकृति दिने, भदौ १० माच अमेरिकामा हुने फोहोरमैलाबाट उत्पादन हुने ऊर्जासम्बन्धी सम्मेलनमा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा टोली पठाउने, वैदेसिक रोजगारीमा जाने कार्यलाई व्यवस्थित गर्र्ने तथा व्यवसायको इजाजतसम्बन्धी दुई निर्देशिकालाई सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ । डोटीको काठमाडौंमा मृत्यु भएका मिल दमाईलगायत चार जनाको परिवारलाई एक लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय पनि भएको छ । विभिन्न मन्त्रालयमा रिक्त रहेको सचिवहरू नियुक्तिबारे भने बिहीवार निर्णय हुन सकेन ।