कभर फोटो

गणेश हिमाल आरोहणको ६४ वर्ष पछि आरोहण दिवस मनाईदै 

By धादिङ न्यूज

January 22, 2019

धादिङ -गणेश हिमाल आरोहणको ६४ वर्ष पछि गणेश हिमाल आरोहण दिवस मनाउन लागिएको छ । गणेश हिमाल पर्यटन विकास समितीको आयोजनामा माघ १० गते विहिवार काठमाण्डौंमा मनाउन लागिएको हो ।  गणेश हिमालमा कहिले र कसले पहिलो पटक आरोहण गरे भन्ने केही थाहा नहुँदा अहिले सम्म आरोहण दिवस मनाउन सकेको थिएन । नेपाल पर्यटन वोर्डको सहयोगमा गणेश हिमाल पर्यटन विकास समितीले यसको खोज गरि सन् १९५५ जनवरी २४ मा पहिलो पटक गणेश हिमाल आरोहण गरेको तथ्य पत्ता लगाएको गणेश हिमाल पर्यटन विकास समितीका अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिनु भयो  । सन् १९५५ जनवरी २४ मा स्वीजरल्याण्डका पर्यटक ४ जनाको टोलीले उक्त हिमालको पहिलो पटक आरोहण गरेको  हो । जसमा रेमंड लम्बर्ट,पियरे भिट्टाज, एरिक गौचर र क्लाउड कोगनले पहिलो पटक आरोहण गरेका हुन् । स्थानिय भाषामा यांग्रा भनेर चिनिने गणेश हिमालको उचाई ७ हजार ४ सय २२ मिटर रहेको छ । पर्वतीय पर्यटनलाई प्रर्वद्धन गर्नको लागि गणेश हिमाल आरोहण दिवस कार्यक्रमको आयोजना गरिएको गणेश हिमाल पर्यटन विकास समितीका अध्यक्ष गुरुङले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा संघिय सरकारका वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहने छ भने धादिङ जिल्लाका संघिय संसद र प्रदेश संसदको साथै पूर्व गृह मन्त्रि वुद्धिमान तामाङ, पूर्व पर्यटन राज्य मन्त्रि पर्शुराम तामाङ सँगै धादिङ जिल्लाको १३ वटै स्थानिय तहका प्रमुखहरुको आतिथ्यता तथा उपस्थिती रहने छ । कार्यक्रममा स्थानिय संस्कृती रितीरिवाज झल्कने खालको प्रश्तुती रहने छ भने गणेश हिमाल सँग सम्बन्धीत विषय वस्तु राखिनेछ । १ देखि ६ वटा सम्म रहेको गणेश हिमाल धादिङ जिल्लाको एक महत्वपूर्ण पर्वतीय पर्यटन गन्तव्य हो । कार्यक्रम काठमाण्डौंको गोकर्ण हाउस रेष्टुरेन्ट, पक्नाजोलमा हुँदै छ ।