कभर फोटो

मनाङमा हिमपहिरोमा परेर बसेरीका अजय ढकालको मृत्यु

By धादिङ न्यूज

March 09, 2019

मनाङ । मनाङको क्याङ्दीमा हिमपहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। त्यस्तै एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ट्रेकिङ गाइड धादिङ बसेरीका  अजय ढकाल छन् ।

नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्याङ गाउँपालिका-१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए ।

ढकालको शव शुक्रबार साँझ फेला परे पनि नेदरल्याण्डका भिनसेन्टलाई भने फेला पर्न सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले उनको खोजी कार्य जारी रहेको जानकारी दिए ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । नेदरल्याण्डका भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ढकालका आफन्तले उनको मृत्यु सहज रुपमा भएको हुन नसक्ने भन्दै घटनाको छानविनको माग गरेका छन् । अजयका दाजु विमलराज ढकालले फेसबुक मार्फत अजय संग गएका विदेशी नागरिक विरामी परेको र मौसम खराव भएको वेलामा पनि ट्रेकिङ एजेन्सीले जवरजस्ती यात्रा गर्न वाध्य वनाएको, सम्पर्क विहिन हुंदा समेत खोजविन नगरेको संगै गएका अन्य पर्यटक र पथ प्रदर्शकले घटना भएको ठाउँ पार गरिसक्दा अजय र उनि संग भएका विदेशी मात्रै त्यहाँ पर्नुलाई संयोग मात्र मान्न नहुने वताएका छन् ।

विमलराजले आफ्नो फेसबुकवालमा लेखेका छन । “म कुनै हालतमा स्विकार गर्न तयार छैन मेरो मुटु मरेको यो यथार्थ हो कि मारेको । मौसम खराब भएको र विदेशी नागरिक अस्वस्थ रहेको अवस्थामा किन अर्को विकल्प नदिएर हिँडाईयो , अरु सारा त्यो ठाउँ पार गर्न सक्दा यी दुईले किन सकेनन्। विना सम्पर्क हुँदा यतीका दिन सम्म किन खोजी गरिएन ?? सम्बन्धित जो होस् छिट्टो जवाफ दे …… मेरो मुटु आउन , बाबू आउन ….कसरी पत्याउँ कसरि मानु बाबु तिमी यति निष्ठुरि छौ हामीलाई छाडेर जान सक्छौ , बाबू मेरो बाबू तिम्रा असिमित रहरहरु कसरी त्याग्न सक्छौ ?” त्यो अन्तिम पलमा कसरी परिचय पत्र निकाल्न सोँच आयो मेरो बाबू ? सहारा पाको भए आज यो सुन्न पर्थेन कति रोयौ करायौ होला मेरो बाबू कोहि पाएनौ सहारा , पैसा केवल पैसा मगजमा बोकेकाले तिम्रो बारे एक पटक सोँचेनन्