केपिकिरण शर्मा चितवन ०९,साउन ।.छिन्छ क्यारे सारङगी तार दुःख सुख यस्तै हो सन्सार, चड्दो साउनको बढदो गर्मी संगै वगिरहेका पसिनाका धाराको पर्वाहा नगरी एकोहोरो सारङगी रेटदै थिए रामबहादुर गन्धर्ब । ५० बर्षिय गन्धर्बको दैनिक विहान सारङगीको धुन संगै सुरु हुन्छ र वेलुकी पनि सारङगीको अन्तिम ¥याई ¥याई संगै आफनो बासस्थान फर्कन्छन । लम्जुङ जिल्लाको राईनासमा ६ दाजुभाई संगै जन्मिएका जेठा रामबहादुर आफनो गृह जिल्ला लम्जुङ नटेकेको एक दशक भन्दा बढि भईसक्यो । त्यसो त आफु जन्मिएको माटो प्रति माया नलागेर उनी गाउँ नर्फकेका होईनन् । उनका पाचै भाईहरु कोही मुलुकका प्रमुख शहरहरुमा रहेर सारङगी रेटिरहेका छन । पिता पुर्खाले नासो स्वरुप दिएको त्यही सारङगीले उनीहरुको सबै परिवारको जीवन चलिरहेको छ । युवा बयमा गाउँ घरमा सारङगी रेट्दै हिड्दा रामबहादुर कम्ति रौसिला गीत गाउथेनन् । सारङगीको तालमा गीत गाउदै उनले २० बर्षे लक्का जवान उमेरमा चितवन माडीकी पुतली गन्धर्बलाई जिवन संगिनीका रुपमा घरमा भित्र्याए । घरमा केही दिन बसेर आर्जन गर्ने हेतुले त्यही सारङगी रेट्दै गाउँ घर डुलेर ६ महिना पछि घर फर्कदा त आफुले कति मनपारएर ल्याएको जिवन संगिनी अर्को संग विवहा गरेर गएपछि उनलाई कहिल्यैं दोश्रो विवहा गर्ने सोच पलाएन । श्रीमतिले छोडेर गएको चोट उनमा अहिले पनि ताजै छ । त्यसैलै उनले सारङगीको भाकामा पनि उनले प्रया जसो पिर विरह र व्यथाको गीत गाउँने गरेका छन । चर्चित गायक तिर्थबहादुर गन्धर्ब हुन या बुकुले गन्धर्ब हुन उनको स्वर र कला पनि कोही भन्दा कम थिएन । तर श्रीमतिको विछोड पछि उनले विरहमा थुप्रै गीत गाए । गीत गाउदै हिडने क्रममा एक दिन उनी अकस्मात् टाईफाईट थलिए । तीन महिना थलिएर निको हुदा उनको गीत गाउने स्वर काम नलाग्ने भईसकेको रहेछ । तै पनि उनले हिम्मत हारेनन । वावुवाजेको नासो सारङगीलाई छाडेनन् । लर्बराउदो स्वरमा सारङगी रेटदै गाउँ घर डुल्ने क्रमलाई निरन्तरता दिए । अहिले उनी पूर्वी चितवनको चैनपुरमा रहेको काकाको घरमा शरण लिएर वसेका छन । दिन भरी सारङगी रेट्दै चामल पैसा बटुल्दै हिडछन । बेलुका बास बस्न चैनपुर जान्छन । अहिले सम्म त उनलाई गाह्रो सारो परेको छैन । एक्लो मान्छे जहाँ जाला वई खाला भनेझै भएको छ । तर ज्यान गल्दै गएपछि बुढेसकालको सहारा नहुँदा त्यही आफनो वावुले दिएको सारङगीलाई उनले आफनो सहारा सम्झेका छन । कसैले किन्न त्यो सारङगी माग्यो भने उनी भन्छन यो पैसामा आउने सारङगी होईन मेरो वावुको नासो हो । म नमरुञ्जेल यो सारङगी छोडने छैन । पछिल्लो पुस्ताका गन्धर्बहरुमा सारङगी मोह घटदै गएको प्रति उनको निकै गुनासो छ । उनी भन्छन गन्धर्ब जातीको सम्पतीनै सारङगी र कला हो । त्यो नै भएन भने केको सम्पती ।