उद्योग /व्यापार

एसियाली विकास बैंकका उपाध्यक्ष चेन र अर्थमन्त्री डा.खतिवडा बिच भेटबार्ता

By धादिङ न्यूज

March 28, 2019

काठमाण्डौं–लगानी सम्मेलन २०१९ मा सहभागी हुन आउनु भएको एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन ले अर्थमन्त्री डा.युवराज खतिवडासंग शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास हालसम्ममा बैंकले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताउनु भयो । खासगरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको अनुभव सुनाउनु भयो । छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिनुभयो । भेटमा बैंकका नेपाल स्थित आवासिय निर्देशक मुख्थर खमुदपनोभ तथा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी हुनुहुन्थ्यो ।