– बलराम त्रिपाठी
धादिंग जिल्लाको उत्तरी भेग गोरखा जिल्लाको सीमाना बुढी गण्डकी र आँखुखोलाको बीचमा, अवश्थित नेपालको दोश्रो ठूलो टार सल्यानटार हो । यस टारको वरीपरी गोरखा र धादिंग जिल्लाका तह तह परेका दर्जनौ पहाडहरु छन् भने यहाँबाट गणेश हिमाल, मनास्लु, धौलागिरी लगायतका आधा दर्जन भन्दा बढी प्रमुख हिमालयहरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सामान्यतया गर्मिमा ३० डिग्री भन्दा माथि र जाडोमा ५ डिग्री भन्दा तल तापक्रम नहुने (न गर्मि न जाडो) यस सल्यान्टार समुद्र सतहदेखि करीव ६०० मिटरको उचाइमा रहेको छ । प्रस्तावित मध्य पहाडि लोकमार्गले छोएको यस टारलाई १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको जलाशयले तिनतीर घेरिए पछि यसको सुन्दरता कति होला सहजै अनुमान गर्न सकिन्छ । बुढी गण्डकी जलाशय बनिसकेपछि यो क्षेत्र नेपालको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास हुने लगभग निश्चित छ ।
२०७२ साल बैसाख १० गते गएको महाभूकम्प पश्चात यस टार लगायत बुढी गण्डकी जलाशयले प्रभाव पार्ने क्षेत्रका ९० प्रतिशत भन्दा बढी घरहरु भत्किएका कारण अहिले सल्यानटारमा आर.सी.सी.यूक्त नयाँ घर बन्ने क्रम तिव्र रुपमा अघि बढेको छ । सल्यानटार वरीपरी जलाशयले प्रभाव पारेका साथै धादिंग र गोरखा जिल्लाका पहाडी र हिमाली भेगका बासिन्दाहरुको प्रमुख रोजाइको स्थान सल्यानटार भएका कारण यहाँ तिव्र रुपमा बस्ती विकास हुँदै गईरहेको छ । तर व्यवस्थित वस्ती विकासको अभावका कारण नेपालका काठमाडौं, भक्तपुर, ललितपुर, जनकपुर लगायतका शहरहरु जस्तै यो पनि कुरुप शहरको रुपमा विकास हने हो की भन्ने आशंका बढेर गएको छ । बुढीगण्डकी विकास समिति छँदा तयार भएको प्रस्तावित गुरुयोजनामा सल्यानटारमा एयरपोर्ट, राष्टियस्तरको रंगशाला, आवस्यक पार्कहरु, बाटो, ढल लगायतका पूर्वाधारहरुको विकास गरी आधुनिक शहर (SMART city) को रुपमा बुढीगण्डकी भिलेजको स्थापना गरिने उल्लेख थियो । सोही बमोजिम एयरपोर्ट निर्माणका लागि आवस्यक जग्गाको व्यवस्था समेत हुन लाग्दा मुआब्जाको विषयमा कुरा नमिली उक्त कार्य रोकिएको थियो । सल्यानटारको भौगोलिक अवस्था हेर्दा योजनावद्ध ढंगले विकास गरिएको खण्डमा यो नेपाल मात्र हैन विश्वकै सुन्दर शहरहरु मध्येमा पर्न सक्ने देखिन्छ । अहिलेको अवस्थामा त्यहाँको जग्गाको मूल्य झन आकाशिंदै गइरहेको छ । भविष्यमा झन झन बढ्दै जाने निश्चित छ । यो अवस्थामा परम्परागत ढंगको विकास शैलीले आधुनिक र सुन्दर शहर बनाउन सकिदैंन साथै रंगशाला, एयरपोर्ट, पार्कहरु निर्माण गर्न आवस्यक जग्गाहरु खरिद गर्न सक्ने अवस्था रहँदैन । यो कार्यक्रम सन्ञ्चालन गर्न सकेको खण्डमा आवस्यक जग्गा यहिँबाट निकाल्न सकिन्छ । त्यतिमात्र हैन जलाशय वरीपरीका वस्तीहरुलाई पनि व्यवस्थित बनाउन सकेको खण्डमा यसको सौन्दर्यतामा अझै वृद्धि हुने अवस्यंभावी छ । यसको निम्ति जग्गा विकास कार्यक्रमरआयोजना (Landpooling Program/project) मात्र एउटा उत्तम विकल्प देखिन्छ । जग्गा विकास कार्यक्रमरआयोजना (Landpooling Program/project) भनेको विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको स्वामित्वमा रहेको जग्गा जग्गाधनीहरु कै सक्रिय सहभागिता तथा समानुपातिक जग्गा योगदान दिने गरी एकै कित्ता बनाई त्यसमा बाटोघाटो, खुल्ला तथा अन्य सामुदायिक स्थलहरु एवम् पूर्वाधारहरु समेतको व्यवस्था गरी चटक्क मिलेको विकसित कित्ताहरुमा पूनर्विभाजन गरी साविकका जग्गाधनीहरुलाई फिर्तादिने कार्य हो । अर्को शव्दमा भन्दा जग्गाको आकार, स्थानलाई पूनर्मिलान गरी साविकको भन्दा बढी मूल्यवान हुने गरि राम्रो बाटोघाटो, खुल्ला तथा अन्य सामूदायिक स्थलहरु एवम् पूर्वाधारहरु उपलब्ध भएका चटक्क मिलेका कित्ताहरु सिर्जना गर्ने कार्य नै जग्गा विकास कार्यक्रम (Landpooling Program) हो । यस कार्यक्रमबाट कुनै पनि जग्गाधनी सुकुम्बासी बन्दैनन् , कुनै पनि जग्गाधनीलाई मर्का पर्दैन । यसबाट सबै जग्गा एवं घडेरीहरुमा बाटो, ढल, खानेपानी लगायतका भौतिक पूर्वाधारहरु पुग्दछ । आवस्यक खुला क्षेत्र, पार्क, शौचालय, खेलमैदान, बसपार्क, रंगशाला, हवाई मैदान आदिको व्यवस्था गर्न सकिन्छ । यसरी समग्र क्षेत्र व्यवश्थित एवं विकसित हुन गई सुन्दर शहरको निर्माण हुन्छ । जग्गा विकास कार्यक्रमरआयोजना (Landpooling Program/project) सन्चालन गर्न जति धेरै खाली जग्गा भयो त्यति नै बढी सहजता हुन्छ । किनकी सम्पूर्ण जग्गालाई एउटै कित्ता बनाई समान दूरीमा नयाँबाटो खोल्नुपर्ने हुन्छ । नयाँ बाटोमा घर तथा अन्य स्थायी संरचना प(यो भने त्यसलाई भत्काउनु पर्ने हुन्छ । त्यसलाई भत्काए पछि मुआव्जा दिनु पर्ने हुन्छ । जसले गर्दा आयोजना महँगो पर्न जान्छ । बनेको संरचना भत्काउँदा त्यसको क्षति राज्यलाई नै हुन्छ । अहिले सल्यानटारमा नयाँ घरहरुको निर्माण तिव्र रुपमा भईरहेको हुँदा यस कार्यक्रमलाई जतिसक्दो छिटो सन्चालन गर्नु पर्ने आवस्यकता अहिले खड्किएको छ । तसर्थ यस आयोजना सन्चालनका लागि यस क्षेत्रका संघिय संसद र प्रदेश सभाका सांसदज्यूहरु, यस त्रिपुरासुन्दरी गाउँपालिकाका जन प्रतिनिधिज्यूहरु, विभिन्न राजनैतिक दलका सदस्यज्यूहरु, बुढीगण्डकी जलविद्युत आयोजना, पत्रकार, लेखक, बुद्धिजिवीहरु लगायत सम्पूर्ण महानुभावहरुले आआफ्नो ठाउँबाट योगदान दिनु पर्ने बेला आएको छ । यस कार्यक्रम सन्चालन गर्न ढिलाई भईसकेकाले “अहिले नगरे कहिले गर्ने, हामिले नगरे कसले गर्ने” भन्ने नाराका साथ सकेसम्म छिटो गराउन आआफ्नो ठाउँबाट दबाब सिर्जना गर्न पनि आवस्यक देखिन्छ ।
- त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ -धादिंग