कभर फोटो

मापदण्ड विपरीत चलाएकाले श्री ग्यास उद्योग कारवाहीमा

By धादिङ न्यूज

April 17, 2019

धादिङ । थाक्रे गाउँपालिका वडा नं ७, सातकिलामा  रहेको श्री ग्याँस उद्योग कारवाहीमा परेको छ । मापदण्ड विपरित उद्योग सञ्चालन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले श्री ग्यास उद्योगलाई कारवाही गरेको छ ।

विभागको टोलीले विहिवार जुंगेखोला स्थित उद्योगको निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारवाहीका लागि सिफारिश गरेको हो ।श्री ग्यास उद्योग २०६५ सालदेखि संचालनमा छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिनुभयो । ‘विभागको मापदण्ड पूरा नगरेकाले तत्काल उत्पादनका लागि रोक लगाएका छौँ, आवश्यक सुधार नगरे प्रमाणपत्रसमेत रद्द गर्नेछौँ, ‘उहाँले भन्नु भयो । विभागले यसअघि पनि मापदण्ड पूरा नगरी सञ्चालन गर्ने विभिन्न किसिमका उद्योगलाई कारवाही गर्दै आएको छ ।