काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भूकम्प पीडितहरुलाई ध्यानमा राखी म्याद थप गरिएको बताउनु भयो । २०७६ जेठ मसान्तभित्र दर्ता गरी काय्र्विधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको सर्वेक्षणका लागि समय थप गरिएको हो ।
हालसम्म प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा जिल्लाहरुबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । प्राधिकरणले यो समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ । वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरुलाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरुलाई प्राधिकरणले अनुरोध पनि गरेको छ ।
प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई कारबाही हुनेमा सचेत पनि गराएको छ । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा मात्र सर्वेक्षण भइरहेको छ ।