कभर फोटो

एन्फालाई एएफसीबाट १० हजार डलर जरिवाना

By धादिङ न्यूज

October 26, 2019

काठमाडौंः एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एन्फामाथि जरिवाना तिराउने निर्णय गरेको एएफसीले जनाएको छ ।

फिफाले एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न भनेको थियो ।

सोही अनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो ।

सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाईसेन्स प्रदान गरेको थियो ।

एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागीता गराउदै आएको छ ।

सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।

होम एण्ड अवेका आधारमा खेलिएको एएफसी कपमा मनाङ जित विहिन हुदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

तर स्रोतका अनुसार एएफसीले मनाङ सहित तीन क्लबको अडिट रिपोर्ट माग गरेको थियो ।

सो जाँचको क्रममा तीन क्लबलाई न्युनतम शर्त समेत पुरा नगरि क्लब लाईसेन्स सिफारिस गरेको भेटिएपछि एएफसीले एन्फालाई कारबाही गर्ने निष्कर्षमा पुगेको हो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार आर्थिक जरिवाना गरेको हो ।

एएफसीले सोही गल्ती पुन दोहरिए दुई वर्षको प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फालाई दिएको छ ।