हाम्रो पालिका

साङकोष पोखरीटार स्थित बालग्राममो कम्प्युटर क्याम्प

By Dhadingnews.com

August 05, 2013

धादिङ÷भाल भविश्य संगठन सिएफओ नेपालले  ताइवानको यन्जी विश्वविद्यालयका सूचना प्रविधी विषयका स्वयंसेवक विद्यार्थी हरु संगको समन्वयमा सञ्चालन गरेको २ हप्ते कम्प्युटर क्याम्पको सोमवार साङकोष पोखरीटार स्थित बालग्राममा विशेष कार्यक्रम गरि समापन गरिएको छ । विगत ६ वर्ष देखि सिएफओ नेपाल संग कम्प्युटर प्रशिक्षण तथा संचार केन्द्र स्थापनामा सहकार्य गर्दै आएको ताइवानको यन्जी विश्वविद्यालयका विद्यार्थीहरुले सिएफओ बालग्राममा ब्यवस्थित कम्पुटर प्रयोगशाला तथा सूचना केन्द्र स्थापना गर्न १३ थान ल्यापटप, एउटा प्रिन्टर र स्क्यानर समेत सहयोग गरेका छन् । सामाग्री हस्तान्तरण तथा कम्पयुटर क्याम्प समापन समारोहमा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, धादिङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, प्रहरी नायब उपरिक्षक अशोक सिंह लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा उपस्थित अतिथि बक्ताहरुले यन्जी विश्वविद्यालयका विद्यार्थीहरुको सहयोगको खुलेर प्रसंसा गर्दै यस्तो कार्यक्रमले नेपालको सूचना प्रविधिको विकासमा बलियो पूर्वाधार निर्माण हुने विश्वास ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा सिफओ नेपालका संस्थापक जर्मनी नागरिक डाक्टर रोजी स्वेताले  १० वर्षअघि  नेपाली अनाथ बालबालिकाको संरक्षणको लागि खोलिएको सिएफओ संस्थाको बालग्राम नमुना योग्य बनेकोमा खुसी ब्यक्त गर्नुभएको थियो । समापन कार्यक्रममा कम्प्युटर क्याम्पमा सहभागि सांकोषका विभिन्न विद्यालयहरु, सुनगाभा बोडिङ र नीलकण्ठ उच्च माविका विद्यार्थी सहित बालग्रामका विद्यार्थीहरुले रमाइलो सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व गर्नुभएका सिएफओका अध्यक्ष रमेश प्रसाद धमलाले सांकोष स्थित अनाथ बालबालिकाहरुको संरक्षणका लागि स्थापित बालग्राम दक्षिण एसियाकै नमुना बालग्रामको रुपमा विकसित गर्न लागिएकाले स्थानीय रुपमा सघाउन सवै सरोकारवालाहरुलाई आब्हान गर्नुभएको थियो ।