हाम्रो पालिका

पालो गरेर सुत्न बन्दीहरू बाध्य

By Dhadingnews.com

August 06, 2013

धादिङ ।साँघुरो ठाउँ । सबैले बस्नका लागि समेत समस्या छ । बस्ने ठाउँ नपुगेर पाल टाँगेर बस्नुपर्ने बाध्यता छ । खाना बनाउने ठाउँ नभएर हरेक दिन समस्या आउँछ । कष्टपूर्ण तरिकाले जेल जिवन बिताइरहेका छन् जिल्ला कारगार शाखाका कैदी र बन्दीहरू ।जिल्ला कारागार शाखा धादिङमा क्षमता भन्दा चार गुणा बढी बन्दी कैदीहरू राखिएका कारण उनीहरू पालो गरेर सुत्न बाध्य छन् । सुत्ने ठाउँ नभएर त्रिपालमुनि राखिएको छ भने पानी परेको दिन समस्या समेत आउने गरेको बन्दीका नाइके अर्जुन पाण्डेले बताए ।

३५ जना बन्दी क्षमता भएको जिल्ला कारगार शाखामा १ सय २० जना बन्दी कैदीहरूलाई राखिएको कारागार प्रमुख मदन श्रेष्ठले जानकारी दिए ।कर्तव्य ज्यान मुद्दा अन्तरत ४३ जना, जबरजस्ती करणी मुद्दा अन्तरगत २३ जना, डाका मुद्दाका १३ जना लगायतका थुनामा राखिएको छ । यसमध्ये ४० जना थुनुवा छन् भने ८० जना कैद तोकिएका बन्दी रहेका छन् । ५ जनाको महिला बन्दी क्षमता भएको स्थानमा समेत १० जना महिलाहरूलाई राखिएको छ ।

पुरुष २५ जना राखिनु पर्ने स्थानमा १ सय १० जना राखिएकोले पुरुष बन्दीहरू राति सुत्ने ठाउँको अभावमा पालो कुरेर सुत्नु पर्ने अवस्था आएको हो ।२०३२ सालमा निर्माण गरिएको कारागार जिर्ण भएर लड्नै लागेको भवनमामा कैदी र बन्दीहरू कतिखेर लडेर भवनले थिच्छ भनेर डराउँदै बस्नु पर्ने अवस्था रहेको बन्दीहरूका नाइके अर्जुन पाण्डेले बताए ।

सुधार गृहको रुपमा व्यवस्था गर्नु पर्ने कारगार समस्याग्रस्त अवस्थामा बन्दीले सुत्न समेत नपाउने अवस्था छ । बिहान खाना बनाउने बेलामा उनीहरूले पालो कुर्दा कुर्दा भोकले अति नै समस्या आउने गरेको छ । धेरै बन्दी कैदी भएकोले कसलाई के भएको छ हेर्न समेत नसकिने अवस्था आएको कारागारका कर्मचारीहरूको भनाइ छ ।

कारागार भित्र बस्नेमध्ये केहीले मुडा बनाउने र नाम्लो बुन्ने काम गर्छन्, तर त्यसको लागि पनि सरकारले सहयोग नगरेका कारण अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको पनि पाण्डेको भनाइ छ ।

सीताराम अधिकारी/इन्सेक अनलाइनबाट